काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा नेताहरुबीच टकराव बढ्दै गएको पाइएको छ। पार्टीले लिएको विचारलाई लिएर उनीहरुबीच टकराव बढ्दै गएको हो।
प्रतिबन्ध फुकुवापछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका पछिल्ला गतिविधि सुस्त देखिएका छन्। तर राजनीतिक कार्यदिशा र विभिन्न पार्टीसँग एकता र कार्यगत एकताका विषयमा भने नेताहरुबीच मतान्तर देखिन्छ। एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा लिएर अघि बढेको विप्लव समूहले पछिल्लो समय केही विषयमा जनमत संग्रह गर्नुपर्ने माग समेत गर्दै आएको छ।
शान्तिपूर्ण राजनीतिमा आइसकेको अवस्थामा निर्वाचनमा भाग लिने वा नलिने भन्नेमा पनि पार्टीका नेताहरुबीच मत नमिलेको नेताहरु बताउँछन्। सो पार्टीका शाीर्ष नेताहरु विप्लव, खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’बीच आगामी दिनमा कुन पार्टीसँग एकता वा कार्यगत एकता गर्ने भन्नेमा विवाद बढ्दै गएको एक नेताले बताए।
पार्टी महासचिव समेत रहेका विप्लव पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिल्नुपर्ने लाइनमा देखिएको एक नेताले बताए। विप्लवका पछिल्ला अभिव्यक्तिमा समेत माओवादी केन्द्रसँग मिल्न सकिने लाइनको संकेत पाउन सकिन्छ। विप्लव समूहकै एक नेता भन्छन्,“विप्लव प्रचण्डसँग मिल्न चाहेको देखिन्छ। प्रकाण्डले केपी ओली र धर्मेन्द्र बास्तोला मोहन वैद्यसँगै मिल्नुपर्ने लाइनमा देखिनुहुन्छ । सानो पार्टीमा नेताहरुका फरक–फरक मतले संकट आउने देखिन्छ।”
प्रचण्डले समेत विप्लवलाई माओवादी केन्द्रमा फर्काउने पहल गरिरहेको ती नेताको दाबी छ। यसका लागि महराले संवाद सुरु गरेका थिए। तर अहिलेकै एकता सम्भव नभएको र निर्वाचनसम्म कार्यगत एकता गर्न सकिनेमा विप्लव सकारात्मक रहेको ती नेताको भनाइ छ। त्यसो त पार्टी प्रतिबन्धमै रहेको बेला पनि विप्लव र प्रकाण्डबीच मतभेद भएका खबर सार्वजनिक भएका थिए। प्रकाण्ड पक्राउ परेपछि बाबुराम भट्टराईले उनलाई रिहा गर्न पहल गरेको भन्दै नेता–कार्यकर्ताहरु रुष्ट बनेका थिए।
सोही समयमा प्रकाण्ड एमाले प्रवेशको चर्चा समेत चलेको थियो। सरकारसँगको वार्तापछि शान्तिपूर्ण राजनीतिमा सक्रिय रहेको विप्लव नेतृत्वको पार्टीका नेता–कार्यकर्तासमेत नेतृत्वसँग रुष्ट रहेको बताइएको छ।
नेताहरुले आफ्नो व्यवस्थापन गरेको तर कार्यकर्ताको बिचल्ली पारेको भन्दै पूर्णकालीन कार्यकर्ताहरु रुष्ट बनेको बताइन्छ। विप्लव पछिल्लो समय कपिलवस्तु बस्दै आएका छन् भने काठमाडौंको बुद्धनगरमा पनि सो पार्टीले आफ्नो सम्पर्क कार्यालय राखेको छ। प्रतिबन्धका बेला पार्टीका नेताहरुले उठाएको चन्दाका विषयमा पनि पार्टीका नेताहरुबीच विवाद रहेको पाइएको छ। यो समाचार बाह्रखरीले प्रकाशित गरेको छ।