काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन्।
काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो। ‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भने।
सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गरेका हुन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ‘एकीकृत समाजवादी’ को जिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाएको छ। नेकपा एसको केन्दी्रय कार्यालयको निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पनि बुझाउनु पर्ने नियम बनाउन लागेको हो।
चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुुमकुमार कार्कीले प्रस्ताव पेस गरेका छन्। ‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र जिल्ला कमिटीका सदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्त भित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ।’




