केपी ओली गफाडी नम्बर एक नेता हुन्: अध्यक्ष नेपाल



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक नम्बर गफाडि नेताका रुपमा चिन्नुपर्ने बताएका छन्।

उनले भने, ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर। फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो। गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ। गफाडी नम्बर १, केपी ओली। अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने। परपीडक नम्बर १।’ उनले केपी ओलीलाई सुध्रन, गल्ती महशुस गर्न र सही बाटोमा आउन सुझाव समेत दिए।

तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको बताएका छन्। सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताएका हुन्।

‘प्रचण्ड सोझो हुन पुग्नुभयो। कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपर्थ्यो नि। उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गरे। अध्यक्ष नेपालले ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै उनी वामपन्थ नभएको टिप्पणी गरे।

‘केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन्। अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा उनले समाजवाद मन पराउँदैनन्।’ उनले सत्तारुढ गठबन्धन ५ वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको बताए।

उनले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको समेत बताए। नेता नेपालले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताए। सवैको चाहाना आम चुनावसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने रहेको भन्दै त्यसबारे छलफल भइरहेको अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन्। सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए।