काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई गणतन्त्र नपचेको दाबी गरेका छन्।
आइतबार समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणा भेलामा बोल्दै अध्यक्ष नेपालले उक्त दाबी गरेका हुन्। एमाले अध्यक्ष केपी ओलीले गत वर्ष पुस पाँच गते गरेको संसद विघटनलाई स्मरण गर्दै अध्यक्ष नेपालले एमालेलाई प्रतिगामी पार्टीका रुपमा चित्रण गरेका छन्।
त्यस्तै अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत एमालेले त्यतिबेला एमालेमा आफूहरुलाई कारबाही गरेको र त्यसले मान्यता नपाएपछि संसद अवरुद्ध पारिरहेको उनको भनाई थियो। नेपालले एमाले अध्यक्ष ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेकोसमेत दाबी गरे।
उनले सर्वोच्च अदालतको उक्त फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गरे। एमालेले त्यतिबेला आफूहरुलाई गरेको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यस विषयमा संसदमा छलफल गर्न नपाइने पनि अध्यक्ष नेपालले बताए।
‘अदालतमा विचाराधीन मुद्धाहरुमाथि बहस गर्न पाइँदैन। छलफल गर्न पाइँदैन संसदमा। ती विषय संसदमा ल्याउन पाइदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ। त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ। नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर’ उनले भने।
तस्बिर: मुकुन्द कालिकोटे