काठमाडौँ। नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन्।
सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन्। शाहीले २१३३ मत पाएका छन्। यस्तै चेतराज बरालले ९९ मत पाएका छन्।
को हुन् बद्री पाण्डे ?
नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ नेविसंघ इकाई सदस्य भएर राजनीतिमा छिरेका हुन्। बाल्मिकी क्याम्पसको इकाई सदस्य हुँदै उनी स्ववियु सभापतिसम्म भए। उनी स्ववियु परिषदको सभापति पनि भए। २०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने। विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए।
गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समितिमा महामन्त्री भए। प्रदीप पौडेलसँग नेविसंघ सभापतिमा पराजित भएपछि पाण्डे पार्टी राजनीतिमा लागे। काँग्रेसको १२ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए। ०७० मा भएको दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद भए। १३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा विजयी भए।
०७४ को आम चुनावपछि पाण्डे राष्ट्रियसभा सदस्य बने। दुई वर्षे कार्यकालको गोला परेपछि २ वर्षअघि नै उनको कार्यकाल सकिएको छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि पीएचडी सक्ने तयारीमा छन्। यसैबीच १४ औं महाधिवेशनबाट पिछडिएका क्षेत्र सहमहामन्त्री बन्न सफल भएका छन्। कर्णाली प्रदेश मुख्यमन्त्री तथा संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत रहेको जीवन शाहीलाई पराजित गरेका छन्।