सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका हुन्।

सोही छलफल अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बैठक बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ । यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ । तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने या नगर्ने भन्नेमा एकमत छैन । खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।