गुटको घेरा तोडेर विजयी बनेका विश्वप्रकाश



काठमाडौँ। गत भदौ २४ गते सुन्दरीजलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै विश्वप्रकाश शर्माले भनेका थिए, ‘मैले महामन्त्री उठ्छु भनेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको छु, अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर तयारी पुग्दैन, म अहिले जहाँ छु, सम्भवतः त्यहीँबाट उम्मेदवार रहन्छु।’

सामान्यतः कांग्रेसका आन्तरिक निर्वाचनमा परम्परागत गुटले बलियो भूमिका खेल्छन्। महामन्त्री जस्तो शक्तिशाली पदमा उम्मेदवारी घोषणा गर्दा शर्मालाई न सभापति देउवाले साथ दिएका थिए, न शेखर कोइरालाको समूहले। उनी आफू उम्मेदवारी हालेपछि प्रकाशमान सिंहसँग जोडिए।

पार्टीभित्र वैचारिक नेताको छवि बनाउँदै गरेका नेता शर्माले परम्परागत गुटको घेराबन्दी तोडेर पार्टीको महामन्त्रीमा बाजी मारेका हुन्। १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका ५१ वर्षीय शर्मा १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका छन्।

पार्टीभित्र र बाहिर पनि लोकप्रिय रहेका उनी यो महाधिवेशनमा कुनै पनि परम्परागत गुटमा अटाएनन्। तर, शील स्वभाव र सकारात्मक सोच्ने बानीले शर्मालाई पार्टीभित्र नेता कार्यकर्ताको मनमा स्थापित गरेको छ। जसकारण उनी परम्परागत गुटका ‘हेभीवेट’ उम्मेदवारलाई पराजित गर्दै महामन्त्री चुनिएका छन्।

महामन्त्री उठ्ने घोषणा गरेका उनलाई अन्तिम समयसम्म पनि आफू कुन प्यानलको महामन्त्री उम्मेदवार बन्ने भन्ने अन्योल थियो । २५ मंसिरको अपरान्हसम्म पनि उनको त्यो अन्योलता प्रष्टिएको थिएन। यतिसम्म कि उम्मेदवारी मनोनयनका लागि राष्ट्रियसभा गृह पुग्दासमेत उनले आफू कुन गुटको उम्मेदवार भनेर खुल्न सकेनन्।

शर्माको वाक शक्ति, क्षमता र लोकप्रियता देखेर सभापति देउवाले २५ पुस, ०७५ मा पार्टीको प्रवक्ता बनाएका थिए । शर्माले तीन वर्षसम्म पार्टीको प्रवक्ताको भूमिका त निभाए नै, देउवाको सहयोगी भएर समेत काम गरे। तर, १४ औं महाधिवेशनसम्म आइपुग्दा शर्मा र देउवाबीचको सम्बन्ध यसरी चिसियो, कि त्यहीकारण देउवाले शर्मालाई आफ्नो समूहबाट उम्मेदवार बनाएनन् ।

त्यसमाथि देउवा र नेता कृष्णप्रसाद सिटौलाबीचको समीकरण शर्माका लागि हानिकारक बन्यो । गृह जिल्ला झापाको राजनीतिक घोचपेचले शर्मा र सिटौलाबीच लामो टकराव छ । १४ औं महाधिवेशनको सम्मुखमा देउवाले सिटौलासँग निकटता बढाए ।

देउवा टिममा सिटौला नजिकिँदा शर्मा चिढिंदै थिए । अन्ततः देउवाले सिटौलानिकट प्रदीप पौडेललाई महामन्त्री उम्मेदवार बनाएपछि शर्मा टिमबाटै बाहिरिए । देउवा टिमबाट महामन्त्री नपाएर लखेटिएका शर्मा कहिले विमलेन्द्र निधि, त कहिले शेखर कोइरालाको महामन्त्री उम्मेदवार बन्ने वार्तामा रहे । उम्मेदवारी मनोनयनकै दिन पनि कोइराला समूहले शर्मालाई महामन्त्री बनाउन कसरत गरेको थियो । तर, आफ्नै टिमको व्यवस्थापन गर्न नसक्दा शर्मा अटाएनन् ।

बिहीबार पार्टीभित्र तेस्रो शक्तिका रुपमा उदाएका सिंहको प्यानलका उम्मेदवार शर्मा महामन्त्रीमा निर्वाचित भएपछि राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘विश्वप्रकाश र गगन एउटै प्यानलबाट उठ्दै थिए, परिस्थितिले उनीहरूलाई छुट्यायो । तर, महाधिवेशन प्रतिनिधिहरूले अहिले पार्टीमा एकैपटक स्थापित गरेका छन्, यसले कांग्रेस अब बुढाहरूको मात्रै पार्टी होइन भन्ने सन्देश गएको छ ।’

बलिया गुटको प्यानलमा नपरेपछि शर्माले अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई रोजे । जबकि सिंहले पार्टीको अधिवेशनमा जित्ने होइन, आफ्नो टिमसमेत बनाउन सकेका थिएनन् । महाधिवेशनको उद्घाटन सत्रमा दिनभर मञ्चबाट प्रतिनिधिसँग साक्षात्कार गरेका विश्वप्रकाशले सिंह प्यानलबाट उम्मेदवारी दिएपनि महाधिवेशन प्रतिनिधिले सहजै स्वीकारे । जसकारण शर्मा अहिले महामन्त्री बनेका छन् ।

राजनीतिक विश्लेषक आचार्य १४ औं महाधिवेशन फ्रेस अनुहारलाई नेतृत्वमा पुर्‍याएको बताउँछन् । ‘कांग्रेसले पार्टी सदस्यताको संख्या बढाएको छ, त्यसको प्रभाव महाधिवेशन प्रतिनिधिमा पर्‍यो । देशभरिबाट युवा उमेरका धेरै जना महाधिवेशन प्रतिनिधि आए,’ उनी भन्छन्, ‘सभापतिमै पनि बहालवाला प्रधानमन्त्री देउवाजीलाई फ्रेस अनुहारले त्यति थ्रेट गर्ने कुरा सामान्य होइन । वास्तवमा यो महाधिवेशनले फ्रेस अनुहारलाई स्थापित गरेको छ । गगन र विश्वप्रकाशको विजयले कांग्रेसमा तरङ्ग ल्याएको छ ।’

झापाको धुलाबारीमा ०२७ सालमा जन्मिएका शर्माले मेची क्याम्पसदेखि विद्यार्थी राजनीति थालेका हुन् । कक्षा ८ मा पढ्दा नै नेविसंघको युनिट सभापति भएका उनी विद्यार्थी आन्दोलनका क्रममा हिरासत बसे । पछि मेची क्याम्पसको नेविसंघ सभापति भए । ०४७ सालमा उनी नेविसंघको झापा सभापति भए, त्यसको २० वर्षपछि १२ औं महाधिवेशनमा उनी पार्टी जिल्ला सभापतिमा चुनाव लडे । तर, जिल्ला सभापति बन्न सकेनन् ।

०४८ पछि नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै विद्यार्थी राजनीतिमा उदाएका उनी ०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भए । नेविसंघमा उनीमात्रै त्यस्तो अध्यक्ष हुन्, जसले नेविसंघको इतिहासमा २ वर्षे कार्यकालभित्रै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरे ।

त्यही बेलादेखि आम विद्यार्थीमाझ लोकप्रिय बनेका शर्माले पार्टी राजनीतिमा आएपछि त्यो लोकप्रियतालाई कायम राखेका छन् । तर, आमनिर्वाचन भने अहिलेसम्म उनको पक्षमा परेको छैन । उनी ०७० को संविधानसभा सदस्यको निर्वाचनमा झापा–१ बाट उम्मेदवार थिए । ०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उनी प्रत्यासी थिए, तर पराजित भए।

समाजशास्त्रमा स्नात्तकोत्तर गरेका उनले बुझेको समाज अन्य राजनीतिज्ञको दृष्टिकोणमा भन्दा फरक छ। पार्टीको प्रवक्ता हुँदासमेत ठूलो सचिवालयको सट्टा आफ्नै सक्रियतामा विश्वास गर्ने उनको सरल र मिजासिलो स्वभाव सबैमाझ प्रिय छ। ‘उहाँको सकारात्मक सोचको बानी सबैभन्दा राम्रो लाग्छ, त्यो हाम्रा राजनीतिज्ञहरूबीच फरक स्वभाव हो,’ उनलाई नजिकबाट बुझेका एक सहयोगीले भने।

शर्मा आफूलाई संस्थापक नेता बीपी कोइरालाको सच्चा अनुयायी ठान्छन्। उनले गर्ने भाषण र गतिविधिमा बीपी जन्मस्थल र उनका विचार जोडिएकै हुन्छन्।

नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका उनी जिल्ला सभापतिमै पराजित भएपनि १२ औं महाधिवेशनपछि पार्टीको संगठनमा सक्रिय रहे, तर सिटौलासँगको टकरावका कारण उनलाई तत्कालिन सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यसम्म पनि मनोनित गरेनन्, जबकि त्यसअघिका सबै नेविसंघ सभापतिहरूलाई कोइरालाले केन्द्रीय सदस्य मनोनित गरेका थिए। कोइरालाले सिटौलालाई मनोनित गरेर महामन्त्री बनाएका थिए। १३ औं महाविधेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

झापाको राजनीतिमा सिटौलाकै कारण स्थापित हुन नपाएपछि शर्मा र सिटौलाबीच कटुता छ। झापाको पार्टी संगठनमा सिटौला पकड छ, १२ औं महाधिवेशनमा झापा सभापतिमा शर्मालाई हराउँदै सिटौलानिकट उद्धव थापा विजयी भए। १३ औंदेखि शर्माले आफ्नै उम्मेदवार खडा गरे। यसपटक पनि झापामा सिटौला–शर्मा प्रतिस्पर्धा भयो । प्रदेशमा पनि सिटौलानिकट उम्मेदवार खडा हुँदा शर्मा पार्टीको कार्यव्यस्तता देखाएर मतदान गर्न समेत गएनन्।

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व चयनबारे चर्कै बहस भयो, तर नीतिबारे कुनै चर्चा भएन। शर्माले भने अब राजनीतिमा परिवर्तन आवश्यक देखिएको भन्दै दुई वटा दस्तावेज ल्याए।

उनले ‘हिजो राजनीतिक परिवर्तनस् अब राजनीतिमा परिवर्तन’ र ‘दलमा रुपान्तरणस् देश रुपान्तरणको अनिवार्य सर्त’ विषयक छुट्टा–छुट्टै अवधारणा पत्र ल्याएका हुन्। महाधिवेशनमा उनले ल्याएका एजेन्डामाथि धेरै छलफल त भएन, तर अब उनी आफैँ महामन्त्री बनेपछि उनले अघि सारेका एजेन्डाको कार्यान्वयनमा उनीमाथि दबाब हुनेछ। उनले अघि सारेको अवधारणामध्ये लोकप्रिय एउटा प्रस्ताव हो, ‘वान टु थ्री फोर’ को। उनले शासकीय प्रणालीको बहसलाई संस्कार पद्धतितर्फ मोड्नुपर्नेमा जोड दिँदै एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्रै सांसद बन्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। यो समाचार कान्तिपुरबाट साभार गरिएको हो।