काठमाडौँ। निर्वतमान रक्षामन्त्री मिनेन्द्र रिजालले पार्टीभित्र राजनीतिक पूँजी नभएपछि पदबाट राजीनामा दिएको बताएका छन्।
सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीको एक नेताको हैसियतमा विधेयक ल्याउनका लागि चाहिने राजनीतिक पूँजी महाधिवेशनको नतिजाले देखाएपछि राजीनामा दिएको बताएका हुन्।
नेपाली कांग्रेसको एक व्यक्तिले गर्नुपर्ने कामहरु तथा विधेयकहरु पूरा गर्नका लागि राजनीतिक पूँजी आवश्यक थियो। तर, महाधिवेशनको नतिजाले भएन। नेपाली कांग्रेसको एक व्यक्तिले गर्नुपर्ने कामहरु महाधिवेशनबाट पूँजी नहुने भएपनि मैले गरेका सबै प्रयासहरु निरर्थक हुनेछन् भनेर नै मैले राजीनामा रोजेँ, उनले भने।
कसैको दबाब र प्रभावमा नपरी आफ्नो स्वविवेक प्रयोग गरेर पदबाट राजीनामा दिएको रिजालले बताए। उनले आफ्नो पराजयलाई जस्टिफाइका लागि कुनै पनि बहना नगर्ने बताए। जे सुकै गुमाउनुपरोस्। ऐनामा आफूले आफूलाई हेर्दा आत्मग्लानी नहोस् र गाली गर्ने स्थिती कहिल्यै नआओस् भनेर म यो निर्णय लिन पुगेँ, उनले भने।
रिजालले देशको सेवाका लागि मन्त्री नभएर पनि गर्न सकिने पनि बताए। उनले नवनिर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीलाई नेतृत्व गर्न सक्षम पनि भएको बताउँदै शुभकामना पनि दिए।