काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन्।
भृकुटीमण्डपमा आइतबार भएको मतदानपछि मतपेटिकालाई पार्टी कार्यालयमा राखी बिहीबार बिहानदेखि गणना गरिएको थियो। महामन्त्रीमा डा.प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुगे।
गगन शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने देउवा पक्षकै भए पनि अन्तिममा टिकट नपाएपछि विश्वप्रकाश प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका थिए। गगन र विश्वप्रकाश विजयी हुँदा देउवा प्यानलबाट चुनाव लडेका महत र पौडेल पराजित बन्न पुगे।
को हुन् गगन थापा ?
कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय गगन थापाको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो। त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे। नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने।
०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।
संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।
उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए ।
महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका हुन् ।
को हुन् विश्वप्रकाश शर्मा ?
प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी ०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।
२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।
२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे । तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएका थिए । शर्माको संसदीय राजीनिति भने विर्सन लायक छ ।
उनी ०७० र ७४ माम भएको आम चुनावमा झापामाम पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै समाजिक विषयको गहिरो अध्ययन राख्छन् । शर्माको व्यक्तित्व बहुआयमिक छ ।