‘आन्द्रा काटियो तर उपचार गर्ने पैसा छैन’



हुम्ला। हुम्लाको सर्केगाढ गाउँपालिका-२, उनापानीका एक बिरामीको प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारमा समस्या निम्तिएको छ।

सर्केगाढ-२, उनापानीका पाथे फडेराको उपचारमा समस्या देखिएको उनका छोरा कुम्मेर फडेराले बताएका छन्। कुम्मेरका अनुसार उनका बुवाको आन्द्रामा समस्या हुँदा हुम्लाबाट सुर्खेत रिफर गरी मंसिर २० गते आन्द्राको जटिल शल्यक्रिया गरिएको थियो। आन्द्रामा समस्या आइ बेहोस अवस्थामा सुर्खेत ल्याइएका फडेराको आन्द्रामा जुका बेटारिंदा आन्द्रा नै काट्नु पर्ने प्रदेश अस्पताल कालागाँउले बतायो। जुकाका कारण सबै आन्द्रा एकै ठाउँमा जम्मा भई बिरामी अन्तिम अवस्थामा पुगेका कारण जति सक्दो चाँडो शल्यकृया गर्नुपर्ने सुनेपछि फडेराका आफन्त शल्यक्रियाको लागि राजी भएका थिए।

२० गते आन्द्राको शल्यक्रिया पछि सामान्य वार्डमा सारिएको उनको उपचार गर्दै एक लाख ५० हजार सकिई सकेको छोरा कुम्मेर फडेराले बताए। उनले भने, ‘सिमिकोटबाट सुर्खेतसम्म पुर्याउँदा आजसम्म ऋण गरेर ल्याएको एक लाख ५० हजार सकियो। बुवालाई दिनदिनै औषधि चडाउनुपर्छ। त्यो आन्द्रा दुबै बराबर भएपछि मात्र अस्पतालले फेरि अप्रेसन गरेर जोड्ने भनेको छ। जोड्दा सम्म १-२ महिना लाग्न सक्ने भन्छन्। त्यति बेला सम्म के खाने? बुवालाई औषधि कसरी गर्ने? समस्या भयो।’

सामान्य वार्डमा बेड चार्ज एकसय र औषधि उपचारमा दिउँसोमा सात हजार र रातीमा सात हजारसम्म बिल उठ्ने कुम्मेर को भनाइ छ। उनले भने, ‘गरिबलाई नभएको समस्या थपिने रहेछ। गत वर्ष काठले च्यापिंदा ढाडको रड हालेको पैसा नभएर निकाल्न नपाई यो वर्ष झन यस्तो समस्या आइलाग्यो।’ उनले सहयोग गरिदिन सहयोगी मनहरूलाई अनुरोध गरेका छन्।

‘सुर्खेत प्रदेश अस्पताल कालागाँउको बेड नम्बर १ मा रहेका आफ्ना बुवाको उपचारमा करिब अझै २-३ लाख खर्च हुने हुँदा सहयोग गरिदिन सबैलाइ अनुरोध गर्दछु’, उनले भावुक हुँदै भने। सहयोगका लागि गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्वास्थ्य संयोजकलाई समेत गरिब सिफारिस बनाएर राहत महसुश गराउन अग्रह गरे।

सहयोग गर्ने जो कोहिलाई उनका दाइ पर्ने पत्रकार बिष्णु फडेरा को सिटिजन्स बैंक को 9848160034 मा फोन-पे गर्न सकिने कुम्मेरले बताए।