काठमाडौँ। नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका महाधिवेशन प्रतिनिधिहरु नेताहरुको आदेशपालकमात्र होइनन् भनेर पुष्टि गर्ने बेला आएको बताएका छन्।
१४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत रहेका थापाले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिहरुलाई खुट्टा नकमाइ विवेक पुर्याएर मतदान गर्न आह्वान गरेका हुन्।
‘नेतृत्व परिवर्तन गर्ने भनेर हामी लड्दै यहाँ सम्म आयौँ। पहिलो चरणको मत अनुसार थोरै साथीहरुले थप सहयोग गर्दा नेतृत्व बदलिने अवस्था आउँदै गर्दा पार्टीका विवेकशील साथीहरु त्यो मत दिनुहुन्छ भन्ने मलाई विश्वास छ। सभापतिका उम्मेदवार शेखर कोइरालाका लागि मत माग्दै थापाले मत हाल्न अघि हिजो किन विमलेन्द्र निधि र प्रकाशमानलाई मत दिएका थियौँ भनेर सोच्न आग्रह गरे।
‘जहिले पनि हामी नेतृत्व बदल्ने कुरा गर्छौँ तर जब नेतृत्व बदल्ने बेला आउँछ, हामी खुट्टा कमाउँछौँ। नेताहरुले खुट्टा कमाए, तर प्रतिनिधिहरुले अन्तरमनको आवाज सुन्नुहुन्छ भन्ने मलाई लागेको छ,’ थापाले भने।