काठमाडौँ। नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन्।
कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन्। तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन। दोस्रो स्थान हासिल गरेका डा। शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन्। सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन्।
नेपाली काँग्रेसमा शेरबहादुर देउवाको विकल्पमा नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका प्रकाशमान, विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मतसमेत जोड्दा देउवाको भन्दा बढी हुन जान्छ। तर, देउवाको विकल्प खोज्नेहरुले साझा उम्मदेवार नउठाएका कारण पहिलो चरणमा कसैले पनि जित हात पार्न नसकेको हो।
दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए।