काठमाडौँ। केही दिनयता घटिरहेको सेयर बजार नीति निर्माताको ‘मनपरी’ अभिव्यक्तिले झनै प्रभावित बनेको छ ।
आइतबार र सोमबार सेयर बजारमा भारी अंकले गिरावट आउनुमा माओवादी केन्द्रका नेताहरूबाट आइरहेका अभिव्यक्तिलाई औंल्याइएको छ। आइतबार करिब ९० अंक घटेको सेयर बजार सोमबार करिब ८० अंक घटेर २ हजार २ सय ८१.६७ बिन्दुमा ओर्लेको छ। यो करिब एक वर्षयताकै न्यून बिन्दु हो।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई अनुत्पादक र साम्राज्यवादको विकसित रूप भनेर गत शनिबार टिप्पणी गरेका थिए। सोमबार अर्थमन्त्री जनार्दन शर्माले बजार हल्लाको भरमा चलेको र त्यसमा एउटा जमात् नै लागेको बताएका थिए । पहिले पनि नेताहरूले गरेको टिप्पणीका कारण सेयर बजारमा उतारचढाव आउने गरेको थियो। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका संयोजक अम्बिका पौडेलले नीति निर्माण तहमा रहेका जिम्मेवार व्यक्तिले नै गैरजिम्मेवार रूपमा बोलिदिँदा बजार प्रभावित हुने गरेको बताए।
‘बजारबारे केही ज्ञान भएका मानिस राजनीतिक दलका शीर्ष नेताहरूसँग निकट छन्, उनीहरूले सेयर कारोबार गर्दैनन्। नीति निर्माता र प्रशासकले भने उनीहरूबाट सेयर बजारबारे जानकारी लिन्छन् र त्यसैलाई पूर्ण मानेर बोलिदिन्छन्। तर त्यो अपूर्ण हुन्छ,’ उनले भने, ‘यथार्थ नबुझी बोलिदिँदा प्रभावित हुने गरेको छ।’
बुझेर लागेका लगानीकर्ताले सेयर कारोबारलाई पेसाका रूपमा लिएका छन् । उनीहरूले नाफा कमाएको नीति निर्माताले देख्न नसक्ने भएकाले स्थापनाको तीन दशकसम्म पनि पुँजी बजार शिशु अवस्थामै रहेको पौडेलको भनाइ छ। नीति निर्माताले ठूला लगानीकर्ताको विरोध गरेकै कारण बजारमा साना लगानीकर्ताको बिचल्ली भएको उनले बताए । ‘सेयर कारोबारलाई पेसा बनाएका लगानीकर्ताले ठूलो परिमाणमा कारोबार गर्छन्। उनीहरू सचेत र सजग हुन्छन् । जब नीति निर्माताबाट बजारमा असर गर्ने खालका सूचना आउँछन्, उनीहरू कि संकुचित भएर बस्छन्, कि बजारबाट बाहिरिन्छन्,’ उनले थपे, ‘यसको प्रत्यक्ष असर बजारमा पर्छ । यस्तो अवस्थामा साना लगानीकर्ताले मात्र बजार थाम्न सक्दैनन्। उनीहरूको बिचल्ली हुन्छ। अहिलेको अवस्था त्यही हो।’
नीति निर्माताले साना लगानीकर्ताको रक्षा गर्छौं भनेर ठूला लगानीकर्ताको हितविपरीत काम गर्दा पनि बजार नराम्ररी प्रभावित हुने पौडेलले बताए। ‘नीति निर्माताले ठूला लगानीकर्ता अडिएको धरातलको जरा काटिदिन्छन्,’ उनले भने, ‘जब ठूला ढल्छन्, साना लगानीकर्ता त्यही पेलानमा पिसिएर मर्छन्।’ अहिले लाखौं संख्यामा रहेका साना लगानीकर्ता ठूला लगानीकर्ता र नीति निर्माताको मिचाइमा परेको उनको भनाइ छ । ‘राजनीतिकर्मीले नीतिमार्फत साँढे ठूला लगानीकर्तालाई २र४ लट्ठी बजारे,’ उनले भने, ‘अब साँढे भाग्छन्। यही भागदौडमा साना लगानीकर्ता पिल्सिन्छन्।’ कान्तिपुरबाट साभार।