३१८१ मत गन्दा देउवा १५०६, कोइरालालाई ११७८



काठमाडौँ। कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन्।

अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना हुँदा देउवाले १५०६ मत पाएका छन्। त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११७८ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन्। त्यस्तै विमलेन्द्र निधिले १७३ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १५ मत मात्र प्राप्त भएको छ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो। पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो। बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो। कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ। सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। १४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन्।