दोस्रो चरणमा शेरबहादुरलाई संकट!



काठमाडौँ। कांग्रेस महाधिवेशनको आज तेस्रो दिन। सोमबार अबेरसम्म मतदान भइरहेको छ। राती १० बजेसम्म मतदान सकिने आंकलन गरिएको छ। कांग्रेसका नेता रमेश लेखक पहिलो चरणमै सभापतिमा शेरबहादुर देउवाले जित हासिल गर्ने दाबी गरेका छन्।

सञ्चारकर्मीसँगको कुराकानिमा नेता लेखकको उक्त कुरा बताएका हुन्। उनको टिमको चाहना पनि यहि हो। किनकी यदि दोस्रो चरणमा गयो भने परिस्थिति अनुकुल नहुन सक्छ।

दोस्रो चरणमा चुनाव हुँदा पहिलो र दोस्रो धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। मतदान स्थलमा भेटिएका कांग्रेस नेताहरुले सुनाएअनुसार देउवा पहिलो र शेखर कोइराला दोस्रो हुने सम्भावना देखिन्छ। अथार्त् दोस्रो चरणमा मतदान हुने अवस्था आयो भने शेरबहादुर र शेखरबीच मात्र प्रतिस्पर्धा हुन्छ। र, त्यो बेला बाँकी तीन जना उम्मेदवार विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले कसलाई समर्थन गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुनेछ।

शेखरसँगै तीन उम्मेदवार पार्टीमा नेतृत्व परिर्वतनको एजेण्डा लिएर उम्मेदवार भएका हुन्। त्यसैले उनीहरु देउवाविरुद्ध एक हुने सम्भावना बढी छ। सभापतिका उम्मेदवार निधिले सार्वजनिक रुपमा दोस्रो चरणमा गए देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताइसकेका छन्। अर्का उम्मेदवार प्रकाशमान सिंहले मुख खोलेका छैनन्, तर नेतृत्व परिर्वतनको मुद्दाका कारण उनलाई पनि देउवासँग जान सहज हुने छैन।