‘महामन्त्री जित्न सकिँन भने पार्टीको क्रियाशील सदस्य मात्रै रहन्छु’



काठमाडौँ। कांग्रेसका नेता तथा १४औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार गगन कुमार थापाले यो नै अन्तीम प्रतिष्पर्धा हुने जानकारी दिएका छन्।

आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा थापाले भनेका छन्, ‘म दोस्रो पटक पार्टीको आन्तरिक चुनावमा उठेको छु। यसपालि पनि जित्न सकिन र प्रतिनिधिले जिताउनु भएन भने मैले सोच्नुपर्ने हुन्छ, म पार्टीको नेतृत्वको लागि योग्य रहेनछु।’

उनले अगाडि भनेका छन्, ‘दोस्रो पटक पनि असफल हुँदै गर्दा पार्टीका साथीहरुलाई धन्यवाद भन्नुपर्छ। यो पार्टीको कार्यकर्ता हुन योग्य रहेछु। केन्द्रीय सदस्य हुन योग्य रहेछु, त्यहाँभन्दा माथि पुग्न योग्य रहेनछु भन्ने बुझ्नुपर्छ। पार्टीको काम गर्ने हो, क्रियाशील सदस्यको हिसाबले काम गर्छु। अन्य साथीहरुको हकमा जो पहिलो पटक प्रतिष्पर्धाको मैदानमा हुनुहुन्छ उहाँले परिणामलाई कसरी लिनुहुन्छ? उहाँहरुकै कुरा हो।’

नेता थापाले ५५ वर्षको उमेरसम्म मात्रै राजनीति गर्ने सार्वजनिक उद्घोष गरिसकेका छन्। उनले आइतबार गरेको घोषणाले कांग्रेसवृत्तमा नयाँ तरंग र्सिजना गरेको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै पार्टीको सक्रिय राजनीतिबाट बाहिरिने बताइ सकेका छन्। कांग्रेसमा इमान्दार कार्यकर्ताहरु बाहिरिने क्रम बढेकोमा कार्यकर्ता चिन्तित बनेका छन्। कांग्रेसमा अस्वस्त प्रतिष्पर्धा र अवसरवाद हावी भएकोमा पनि कार्यकर्ता पंक्ति चिन्तित देखिन्छ।