काठमाडौँ। नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन्। अब १३२ पदका लागि मतदान हुनेछ।
निर्वाचन समितिका अनुसार सबै पदका लागि मतदान सकिए लगत्तै सभापति पदको मतगणना सुरु हुने छ। काँग्रेसको विधानअनुसार सभापति पदका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने उल्लेख छ। यदि कुनै उम्मेदवारले खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकामा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ।
दोस्रो चरणको मतदान भएमा पनि राष्ट्रिय सभागृहमै मतदान हुनेछ र मतगणना पनि सभागृहमै हुनेछ। पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ। निर्वाचनमा मतदानका लागि ८७ वटा मतपेटिकाको व्यवस्था गरिएको छ। त्यस्तै, निर्वाचनमा २९ वटा मतपत्र प्रयोग गरिनेछ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम नामावलीअनुसार काँग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार छन्।
केन्द्रीय उपसभापति दुई सिटका लागि डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइराला उम्मेदवार हुनुहुन्छ। केन्द्रीय महामन्त्री दुई सिटका लागि गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
केन्द्रीय सहमहामन्त्री (महिला एक सिट) का लागि कमला पन्त र महालक्ष्मी उपाध्याय, (सहमहामन्त्री दलित एक सिट) का लागि गङ्गा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा, सहमहामन्त्री (आदिवासी/जनजाति एक सिट) का लागि विकास लामा र भीष्मराज आङ्देम्बे, सहमहामन्त्री (खस आर्य एक सिट) का लागि किशोरसिंह राठौर र देवराज चालिसे, सहमहामन्त्री (मधेसी एक सिट) का लागि महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, सहमहामन्त्री (मुस्लिम एक सिट) का लागि फरमुल्लाह मन्सुर र शेख वकील, सहमहामन्त्री (थारु एक सिट) का लागि उमाकान्त चौधरी र तेजु लाल चौधरी तथा सहमहामन्त्री (पिछडिएको क्षेत्र एक सिट) का लागि चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे उम्मेदवार छन्।