काठमाडौँ। प्रतीक्षा सेञ्चुरी काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक गर्दैछिन् । यद्यपि उनी भविष्यमा मेकअप आर्टिस्ट बन्न चाहन्छिन् । प्रतीक्षा भन्छिन्, ‘मेकअप आर्टिस्ट बन्न मन लाग्छ, त्यसैको तालिम लिइरहेकी छु ।’
२३ वर्षीया प्रतीक्षालाई मोडलिङमा पनि उत्तिकै रुचि छ । यद्यपि उनी यसमै पूर्णकालीन रुपमा लाग्ने सुरसारमा भने छैनन् । ‘मोडलिङमा नै करिअर बनाउने सोच होइन,’ प्रतीक्षा भन्छिन्, ‘तर, फोटोसूट गर्न रहर लाग्छ ।’ उनले कुनै म्युजिक भिडियोमा खेलेकी छैनन्, र्याम्प शोमा उत्रिएकी छैनन् ।
प्रतीक्षालाई फोटोसूटका साथै घुमफिरमा बढी रुचि छ । उनलाई बेपर्वाह घुम्न मन लाग्छ । त्यस्तै फिल्मको पनि उनी सौखिन हुन् । ‘प्रायः फुर्सदमा फिल्म हेर्न मन पराउँछु,’ प्रतीक्षा भन्छिन् । उनलाई लभस्टोरी, हरर मुभी बढी मन पर्छ ।
यसैगरी संगीतमा पनि उनको गहिरो लगाव छ । प्रायः गीत–संगीत सुनिरहेकी हुन्छिन् । प्रतीक्षालाई नेपाली आधुनिक गीत र हिन्दी गीतहरु बढी मन पर्छ । अक्सर पुराना गीतहरु सुन्ने उनी बताउँछिन् । पुस्तक पढ्नमा भने उनलाई उस्तो रुचि छैन, खासगरी साहित्यिक । ‘पढ्नमा म अलि अल्छी छु,’ प्रतीक्षा भन्छिन् । तस्बिर/समाचार अनलाइनखबरबाट साभार गरिएको हो।