काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो पार्टीमा ‘बा’ को लिस्टको कुनै अर्थ नहुने बताएका छन्।
शेखर कोइराला प्यानलले आइतबार गरेको पत्रकार सम्मेलनमा महामन्त्रीका उम्मेदवार थापाले भने, ‘एमालेको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु नारायणी किनारबाट होटल हेरेर ‘बा’ ले कुन लिस्ट ल्याउनुहुन्छ भनेर पर्खेर बसेका देखिन्थे। तर कांग्रेसमा त्यस्तो छैन।’ उनले अघि भने, ‘यहाँ कुनै बा (शेरबहादुर देउवा) ले बनाएको लिस्टको अर्थ छैन । महाधिवेशन प्रतिनिधिले नै मतदान गरेर नेतृत्व छान्छन्।’
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी सभापतिमा चुनाव हारे आफूलाई प्रधानमन्त्रीबाट हटाउने शेरबहादुर देउवाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएका छन् ।
पार्टीमा नेतृत्व परिर्वतन हुने, तर गठबन्धन सरकार अझ दरिलो भएर जाने उनले बताए। आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार कोइरालाले आफूहरुले पार्टीमा नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरेको बताए। उनले भने, ‘उहाँले जुन कुरा बोल्नुभयो, यो अन्त्यन्त गैरजिम्मेवार कुरा बोल्नुभएको छ।’
कोइरालाले अघि भनेका छन्, ‘म त अझ के भन्छु भने नेतृत्व परिर्वतन हुन्छ, हुन्छ हुन्छ। तर, त्यो नेतृत्व परिर्वतनले गठबन्धन सरकार अझ दरिलो भएर जान्छ। हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं, गर्दा पनि गर्दैनौं।’