जुम्ला। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशमा पाइने जडिबुटी लाई विदेश पठाई औषधी आयात गर्ने प्रावधान कर्णालीले हटाउनुपर्ने बताएकी छन्।
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शैक्षिक भवन शिलन्यास तथा एमबिबिएस, बि फार्मा लगायतका शैक्षिक कार्यक्रमको उद्घाटनका क्रममा भण्डारीले उक्त कुरा बताएकी हुन्।
भण्डारीले कर्णाली प्रदेशका अधिकांस भाग हिमालले ढाकिएका कारण यहाँ पाइने बहुमुल्य जडिबुटीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनुसन्धान केन्द्र खोली जडिबुटी प्रसोधन गरी यतै औषधी उत्पादन गर्न अनुरोध गरेकी छन्। भण्डारीले येतैको वस्तु बाहिर पठाएर महंगो मुल्यमा औषधी किन्नुपर्ने बाध्यतालाई हटाउन सके समग्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुने बताइन्।
उनले प्रतिष्ठानले कर्णालीका जनताले घर आगनमा मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने लामो समयको सपना साकार भएको पनि बताइन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशका जनताको जीवनस्तर सुधार्न पुर्वाधार विकासमा जोड दिनुपर्ने बताइन्। तिर्थस्थल मानसरोवर जाने प्रमुख मार्ग, हिल्सा सडक मार्ग, स्वर्गकी अप्सरा उपमा पाएको रारा ताल जस्ता पर्यटकिय स्थलको पुर्वाधार विकासमा जोड गरी पर्यटन प्रवद्र्धन गरेमा यस प्रदेश सम्मुनत प्रदेशका रुपमा रुपान्तरण हुने भण्डारीले बताइन्।
उद्घाटन कार्यक्रममा विशेष अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले कर्णाली प्रदेशमा रहेको स्वास्थ्य समस्यालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले समाधान गर्नमा अहम भुमिका खेलेको बताए। उनले विकट क्षेत्रमा स्थापित प्रतिष्ठानले चिकित्सक उत्पादन गरेर विकटकै समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए।
विशेष अतिथि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले सुरुका दिनमा अञ्चल हुँदै प्रतिष्ठानमा विकसित हुँदा संस्थाले स्वास्थ्य क्षेत्रमा खेलेको भुमिका अतुलनिय रहेको बताए।
कार्यक्रमका अर्का विशेष अतिथि तथा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले रोगभोकले ग्रस्त यस क्षेत्रमा मौलिक हकका रुपमा रहेको स्वास्थ्य, शिक्षा र रोजगारमा बजेट छुट्याउँदा अन्य प्रदेशभन्दा महत्वमा राखेर बजेट बिनियोजन गर्न सकेमा यहाँका नागरिकले मौलिक हकको प्रत्याभुति गर्न सक्ने बताए। परियारले विकास निर्माण तथा स्वास्थ्य क्षेत्रमा प्रदेश, संघ र स्थानिय सरकार अगाडि बढेमा जनाताको जीवन स्तर उकास्न सकिने पनि बताए।
कार्यक्रममा पुर्व रजिस्टार श्याम लम्सालले सुरुवाती दिनमा सुगम क्षेत्रमा काम गरेको आफुलाई कर्णालीको सौन्दर्यताले आकर्षण गरेको बताए। प्रतिष्ठान संचालनको सुरुका वर्ष १७ लाख बजेट बनाई योजना संचालन गरेको र तत्काल सम्बन्धित निकायमा बजेटको लागि गुहार्दा बालुवामा पानी हाल्न नहुने सुनाएको तितो अनुभव रहेको बताए।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले कर्णालीमा उच्च शिक्षा अध्यन संचालन हुँदा प्रतिष्ठान अब चल्दैन भन्ने भ्रम चिरिएको बताए। प्रतिष्ठानले संचालन गरेको चिकित्सा शिक्षा अध्ययन तथा प्रतिष्ठानको गुणस्तरमा सुधार गर्न सबैले लागि पर्नुपर्ने उनले बताए। प्रतिष्ठानमा निकट भविष्यमा पिएचडी लगायतका कार्यक्रम संचालन गरिने पनि डा. रावलले बताए। कार्यक्रममा उनले कर्णालीमा पाइने बहुमुल्य जडिबुटी को पहिचान गरि प्रसोधन गर्नमा प्रतिष्ठानले जोड दिने पनि बताए। डा. रावलले प्रतिष्ठान संचालन गरेको १० वर्षमा डाक्टर उत्पादन गर्न सफल भएकोमा कर्णालीको सपना साकार भएको पनि बताए। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुण्स्तरमा सुधार गरी स्वास्थ्य सेवामा अझ प्रभावकारी रुपमा लागिपर्ने बताए।
कार्यक्रममा प्रतिष्ठानलाई जग्गा दान दिने दाता, प्रतिष्ठान संचालन गर्न महत्वपूर्ण भूमिका खेल्ने समाजसेवीहरु र दुई कार्यकालका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो। राष्ट्रपति भण्डारीले उद्घाटन गरेको शैक्षिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानमा एमबिबिएस, बि फार्मा, बिएनएस लगाएत कार्यक्रम संचालित छन्।