काठमाडौँ। नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन्।
आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन। त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’
काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन्। यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे।
पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ। निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन्। बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन्।
सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरिँदै आएका बेला निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने ठोकुवा गरेका छन्।
नेपाली काँग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ।
अघिल्लो १३औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदा कसैले ५० प्रतिशत मत कटाउन सकेका थिएनन्। दोस्रो चरणमा सिटौला आउट भएका थिए भने देउवा र पौडेलबीच पुनः मतदान भएको थियो। जसमा देउवा विजयी भएका थिए। यो समाचार रातोपाटीमा प्रकाशित छ।