पेनाल्टीको सहारामा लिभरपुल र चेल्सी विजयी



इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका फरक खेलमा लिभरपुल र चेल्सी विजयी भएका छन् । स्टार खेलाडी मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले एस्टन भिल्लालाई १–० अन्तरले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउन सलाहले ६७औँ मिनेटमा पेनाल्टीको सहारा लिएका थिए । बाँकी समय गोल नहुँदा स्टेभन जेरार्ड पूर्व क्लब लिभरपुलविरुद्ध जित निकाल्न असफल भए ।

अर्को रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाईटेडविरुद्ध कठिन जित पायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जर्जिन्होले गरेको गोलसँगै ३(२ अन्तरको जित पायो । चेल्सीको जितमा जर्जिन्हो नायक रहे । उनले २ गोल गरे । खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए । ४३ मिनेटमा चेल्सीका मेसन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो ।

५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २(१ को अग्रता बनायो । ८३औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २(२ अवस्थामा रह्यो । जर्जिन्होले खेलको इन्जरी समयमा गोल गर्दा चेल्सीले तीन अङ्क जोड्यो । जितसँगै १६ खेलबाट ३८ अङ्क बनाएको सिटी शीर्ष स्थानमा छ । ३७ अङ्कको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अङ्कको चेल्सी तेस्रो स्थानमा यथावत् छ ।