‘आस्थापुञ्ज’ ले मथिङ्गल हल्लाएपछि…



धेरै समय बितेकै छैन, सम्पादक सूर्य बिसी र म बालापनकाे साथी जस्तै भइसकेका छौं। एक अर्काको निम्ति खुल्ला किताब सरह। केही समय पहिले रसुवाली कविमार्फत भेट भएपनि बाग्लो भेटघाट पार्टी कामकै क्रममा हुन थालेको हो। हामी पार्टी निर्माणको अभियानमा छौं। नेकपा एकीकृत समाजवादीलाई सकेको योगदान दिनका लागि इमान्दारपूर्वक यात्रामा हिडिराखेका छौं।

खैर, बी.एन. पुस्तक संस्कार प्रा.लिका सञ्चालकसमेत रहेका सूर्य बिसी जीव विज्ञानका विद्यार्थी/जानकार दुवै हुन्। साहित्यमा आफ्नाे स्थान छ। उनले जीवन र जगतका बारेमा कैयन कथनहरुमा कमल चलाएका छन्।

आजभन्दा झण्डै एक दशक पहिले स्व. घनश्याम बुढाथोकीको सम्झनामा लेखेको पुस्तक ‘आस्थापुञ्ज’ पढ्नका लागि अनुरोध गरेपछि मैले उक्त पुस्तक उत्सुकतापूर्वक पढें। उक्त पुस्तकले पटकपटक मेराे आँसु झार्याे। पुस्तक पढ्दा होस् या चलचित्र हेर्दा कहानीसँग देखे भोगेको जिन्दगीको तुलना गरेर हेर्छु/पढ्छु। त्यसैले वेदनाका सामग्रीहरुले मलाई सहजै रुवाउँछन्। पढ्नैकै लागि पढ्ने बानी छैन। पुस्तक पढ्न थालेपछि वास्तविक जिन्दगीसँग दाजेर पढ्दा आनन्द लाग्छ।

मैले नढाटी भन्नुपर्छ संस्मरणहरु धेरै पढेको छैन। सिमित संस्मरण पढेको छु। जुन संस्मरण पढें त्यहाँ मैले आत्मरति र केही भ्रमहरु भेटे। त्यसैले हत्तपत्त मरिसेको मान्छेको बारेमा लेखेका पुस्तक पढ्दीँन। ढाटेर, काटेर वा बाङ्गो बनाएर पुस्तक लेख्नु मृतकप्रतिको सच्चा श्रद्धाञ्जली हुँदैन। तर, ‘आस्थापुञ्ज’ संस्मरण यस्तो पुस्तक हो जुन पुस्तक पढेपछि धेरै कुरा सिकिन्छ। मथिङ्गल हल्लिने गरि लेखेका छन् सूर्यले आस्थापुञ्ज। स्व. घनश्याम बुढाथोकीको विराट इतिहास र जीवनी मात्रै होइन, विचारका विम्वहरु पस्किएका छन् आस्थापुञ्जमार्फत।

बिरह र वेदना मात्रै छैन आस्थापुञ्जमा। विज्ञानदेखि ज्ञान र ज्ञानदेखि ज्यान (जीवन) का असंख्य सन्दर्भहरु समावेश छन्। साहित्यमा आवेगलाई कमजोरी ठान्ने प्रचलन छ। तर, म यस कित्तामा अटाउने व्यक्ति होइन। साहित्यमा क्रान्तिका स्वरहरु, झंकारहरु र अटुट आस्थाहरु हुनुपर्छ। जसले समाजलाई रुपान्तरणको यात्रामा लैजाओस्। ‘आस्थापुञ्ज’ सहिद क. घनश्याम बुढाथोकीको निधन भएपछि जन्मिएको पुस्तक हो। घनश्याम कमरेडको जीवनबाट नेपाली कम्युनिष्टहरुले धेरै सिक्न लायक कुराहरु छन्। ती कुराहरु यस पुस्तकमा समावेश छन्।

घनश्याम कमरेडको १९ असोज २०६९ सालमा एमाले पार्टीको कार्यक्रमकै क्रममा दुर्घटनामा परि दुःखद निधन भएको रहेछ। आफ्ना दाजुको मृत्युको बारेमा किताब लेख्न सक्ने आँट सूर्यसँग कसरी जन्म्यो होला? मैले यो पुस्तक पढ्दै गर्दा सूर्यसँग सोध्न मन लागेको प्रश्न हो यो। घनश्याम सूर्यका दाजु मात्रै थिएनन्। सिंगो दङ्गाली कम्युनिष्ट आन्दोलनको योद्धा थिए। सच्चा कम्युनिष्ट थिए।

एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको शुभकामना सन्देश (पुस्तकमा समेटेको) ले पनि मेरो दाबीलाई थप पुष्टि गर्छ। तर, स्व.घनश्याम कमरेडको बारेमा तत्कालिन एमालेदेखि नेकपा एसले प्रभावकारी रुपमा केही काम गरेको नदेख्दा मन खिन्न भएको छ। २०४९ र २०५४ सालमा दाङको हाल घोराही उपमहानगर ‘सैघा गाविस’ (साविक) को अध्यक्ष  भएर जनताको काम गरेका घनश्याम दाङकै कार्यबहाक सचिव भएर जिम्मेवारी पूरा गरेको योद्धा हो। उनको स्मरणमा पार्टीले शालिक राख्नेदेखि विभिन्न कामहरु गर्ने भनेको रहेछ। तर, आजसम्म पनि सूर्य बिसीले पुस्तकमा उठाएका प्रश्नहरुले उत्तर पाएका रहेनछन्। यस मानेमा थप दुःख लाग्यो। खैर, हामी एकीकृत समाजवादी आन्दोलनको मोर्चामा छौं। स्व. घनश्याम कमरेडको निष्ठावान जीवनबाट पाठ सिक्दै उनले देखेको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ। अरुले के गर्लान थाहा छैन, तर हाम्रो पार्टीले क.घनश्यामको बारेमा गम्भीर हुनैपर्छ।

अन्त्यमा, पुस्तक पढ्दै गर्दा शरिरमा कम्पन आउँछ। मुटको चाल अस्थिर बन्छ। भावुक बनाउछ। आफन्त गुमाएका आफन्तको हातमा आस्थापुञ्ज पर्नुपर्छ रुवाउँछ। हो, मान्छे मरेपछि आउँदैन। तर, मरेर गएकाहरुका किस्ताकिस्तामा आउने यादहरुले नमिठो तरिकाले चिमोठी रहन्छन्। जसरी सूर्य कमरेडलाई दाजु घनश्यामको फोन आउँदैन, त्यसैगरि मलाई मेरो दिदी (काकाकी छोरी, जनयुद्धकी सहिद) सविताले फोन गर्नु हुन्न। यदि दिदी भएको भए गणतन्त्रको अनुभूति गर्थिन होला। आस्थापुञ्ज पढ्दै गर्दा परिवर्तनका लागि जीवन बलिदान गरेका तमाम सहिदहरुलाई भुल्न सकिन। यस मानेमा पनि यो पुस्तकले मलाई बेसरी घोचेको हो। बाँकी दिनमा सूर्य बिसीका अरु धेरै सिर्जनाहरु पढ्न पाइयोस् शुभकामना। क. धनश्यामप्रति हार्दिक समवेदना।