सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) डोल्पा जिल्ला स्तरीय बृहत् अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम दुनैमा सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब दुईसय जना नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। जिल्ला कमिटी अध्यक्ष नन्दसिङ्ग बुढाको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
भेलालाई पार्टी उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज ज्वालासहित सहइन्चार्ज हंसबहादुर शाही, प्रदेश अध्यक्ष अम्मर थापा, प्रदेश सदस्य माया ठकुल्लालगायतका बक्ताहरुले प्रशिक्षणमूलक सम्बोधन गरेका थिए।
भेलामा बिभिन्न पार्टी परित्याग गरि एकीकृत समाजवादीमा समाहित हुनेहरुलाई ज्वालासहितका नेताहरुले स्वागत गरेका छन्। त्यस्तै कार्यक्रममा डोल्पा जिल्लामा पार्टीका संस्थापक मध्यका एक तत्कालीन पार्टी सचिव तथा अध्यक्ष स्व. कमरेड दत्त बहादुर रोकायाकी धर्मपत्नि वाचुकला रोकायालाई सम्मानसमेत गरिएको थियो। आजै डोल्पा जिल्ला पार्टी कार्यालयको समेत उद्घाटन गरिएको उपमहासचिव ज्वालाले जानकारी दिएका छन्।