गंगा सुनारले गरिन् केन्द्रीय सदस्यमा उम्मेद्धवारीको घोषणा



काठमाडौं। नेपाली कांग्रेसको आजबाट सुरु हुने १४औँ महाधिवेशनमा नेतृ गंगा सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन्।

उनले दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको रिपोर्टर्स नेपाल बताइन् । आफूले पार्टीमा बसेर गरेको योगदानकै कारण पार्टीको केन्द्रीय कमिटीमा आउन लागेको बताईन् । उनले आफूले महिला, दलिति, जनजाति र ज्येष्ठ नागरिको अधिकारको लागि काम गरेको पनि बताईन् । २०६२/०६३ को जनआन्दोलनमा अग्रभागमा रहेर उनले सक्रिय भूमिका निर्वाह गरेकी थिईन् ।

‘पार्टीमा दलित महिलाहरूको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु,’ उनले भनिन्, ‘यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’

बुढानिलकण्ठ नगरपालिका–७ की ३७ वर्षे सुनार समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातक हुन् । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । उनले पार्टीको नेतृत्वमा संस्थापनईतर समूहले सर्वसम्मत् रुपमा सभापतिको उम्मेद्धवार तय गर्नेमा आफू विश्वस्त रहेको पनि सुनाईन् ।

उनी हाल काठमाडौं दलित संघकी अध्यक्ष समेत हुन् । ‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको हाम्रो समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्नेछ, मेरो उम्मेदवारी त्यसैका लागि हो,’ उनले भनिन् ।

०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भइन् । उनी दलित संघको साधारण सदस्य भएदेखि निरन्तर कार्यरत छन् । ०६० सालमा संघको जिल्ला सदस्य भएकी उनी ०६४ मा सहसचिव, ०६७ सालमा सचिव, ०७० सालमा पुनः सचिव भएर काम गरेपछि ०७४ सालमा संघको जिल्ला अध्यक्ष बनेकी हुन् ।

उनले आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको बताइन् । उनले काठमाडौंमा पहिलो पटक ०७५ साल बैशाख २२ गते सहभोजको आयोजना गरेकी थिइन् ।

‘काठमाडौंमा पनि जातीय विभेद हटेको छैन । हामीले दलित संघको आयोजनामा त्यो बेला सहभोजको आयोजना गरेर समाजमा सबै समान हो भन्ने भाष्य स्थापित गर्ने प्रयत्न गरेका थियौँ,’ उनले भनिन् । उनले आफू संघको जिल्ला अध्यक्ष भएपछि पटक–पटक प्रशिक्षण कार्यक्रम, दलित विद्यार्थी सम्मान तथा प्रोत्साहन लगायत कार्यक्रमहरू गरेको बताइन् ।