काठमाडौँ। संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति नभए वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णयमा पुगेका छन्।
बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको बैठकमा पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने कुरामा एकमत भएका थिए।
नेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई उपसभापति र महामन्त्रीलगायतका पदाधिकारीमा व्यवस्थापन गर्न उपाय निकालेका थिए। त्यो प्रस्ताव लिएर नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका थिए।
अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायत शेखर कोइरालालाई भेट्न गएका थिए।
सिंहले १३ औं महाधिवेशनमै पौडेललाई छाडेको भन्दै १४औं आफ्नो नाममा सहमति हुनुपर्नेमा जोड गरे। तर, शेखर कोइराला पौडेललाई छोड्न तयार भए पनि सिंहको नेतृत्व स्वीकार्न तयार भएनन्।
पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको छलफल शुक्रबार बस्ने गरिसकिएको छ। बैठकपछि पौडेल पक्षका नेताहरुले प्रकाशमान सिंह र शेखर कोइरालासँग छलफल गरेका छन्।
सिंहले आफ्नो नाममा सहमति हुनुपर्ने अडान दोहोर्याएका छन्। एक नेताका अनुसार शेखर कोइरालाले भने पौडेललाई सिंहले मानेको अवस्थामा आफू छोड्न तयार रहेको बताएका छन्। तर शेखर प्रकाशमानलाई छोड्ने मुडमा भने नरहेको ती नेताको भनाइ छ।