सभापति देउवा पक्ष टीम बनाउन व्यस्त



काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष टीम बनाउनमा व्यस्त छ।

पुस २४ गतेदेखि कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ। बुधबारदेखि देउवा पक्षले पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार तय गर्न घनिभूत छलफल थालेको थियो।

सातवटै प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको सूची बनाउन देउवाले दिएको निर्देशन अनुसार नेताहरुले छलफल थालेका छन्। बागमती, सुदूरपश्चिम, लुम्बिनी, कर्णालीबाट पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार पारिएको छ। अन्य प्रदेश दुई, गण्डकी र प्रदेश १ को सूची बनाउन काम अहिले पनि जारी छ।

आकांक्षीको सूची तयार पारेर सकेसम्म मिलाएर नाम दिन देउवाले नेताहरुलाई भनेका छन्। त्यहीअनुसार काम भइरहेको नेता एनपी साउदले रातोपाटीलाई बताए। सबै प्रदेशबाट सूची बनाउने काम भइरहेको र उम्मेदवारको अन्तिम टुंगो सभापति लगाउने उनको भनाइ छ।