अर्थतन्त्र नजानेको भन्नेलाई देखाइ दिन्छु: अर्थमन्त्री शर्मा



काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि आलोचना गर्नेलाई कडा जवाफ फर्काएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले आफूले गरेका कामको प्रतिरक्षा र आलोचकमाथि निशाना एकैसाथ साँधे ।

अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल चलाएको थियो । समितिले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीहरू सहभागी थिए ।

केहीअघि नेकपा (एमाले) नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शर्मालाई कति भनेपछि गुणा हुन्छ भन्ने पनि थाहा नभएको भन्दै आलोचना गरेका थिए । केही मिडियाहरूले अर्थमन्त्रीमाथि पूर्वअर्थमन्त्रीले गरेको आलोचनालाई निकै प्रमुखतासाथ समाचार बनाएका थिए । आज अर्थ समितिमा शर्माले त्यसैप्रति इङ्गित गर्दै भने, ‘को जान्ने, को नजान्ने भन्ने महाशयलाई अध्ययन गरिरहेको छु, उनीहरूको अवस्था थाहा पाएकै छु ।’
हाल अर्थतन्त्रमा समस्या देखिनुका पछाडि यसअघिका नीति भएको भन्दै अर्थमन्त्री शर्माले समग्र ऐन कानुनकै कारण फरक परेको पनि तर्क गरे । उनको यो भनाइको आशय पनि आलोचक पूर्वअर्थमन्त्री पाण्डेलक्षित रह्यो ।
कोरोना महामारी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले अर्थतन्त्रमा क्षति पुर्‍याएको, तर सरकारको समग्र खर्च गत वर्षको समान अवधिभन्दा २ प्रतिशत बढी रहेको पनि उनले उल्लेख गरे । यसैगरी, आयात ६४ प्रतिशत र निर्यात १०४ प्रतिशत बढेको भन्दै निर्यात अवस्था अहिलेसम्मकै बढी रहेको पनि दाबी गरे । विदेशी विनिमय सञ्चिती १३ अर्ब १९ अर्ब रुपैयाँ रहेकाले नेपालले ७.८ महिनाका लागि आवश्यक वस्तु तथा सेवा आयातलाई धान्नसक्ने पनि अर्थमन्त्रीले बताएका छन् ।