कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात



काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहिबार बसेको बैठकमा अनुपस्थित रहेका छन्।

बैठक बस्नुअघि पार्टी कार्यालयका मुख्यसचिवले वरिष्ठ नेता पौडेललाई सम्पर्क गरेका थिए। महाधिवेशनमा पार्टीका कोही पनि अनुपस्थित नहोस् भनि पार्टीले चाहेको उनले बताए।

नेपाली कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले सो मौज्दात देखाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको उनले जानकारी गराए। त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफ्नो प्रतिवेदन पेस गरेको थियो। त्यो पनि बैठकले पारित गरेको छ। बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जानकारी गराए।

त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ। अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ। महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ। बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यलाई दिएको छ। निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले गराउने बताइएको छ।

पार्टीको नीतिबारे छलफल गर्ने विषय महाधिवेशनको कार्यसूचीमा नराखिएको प्रवक्ता शर्माले बताए। यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत रहने बताउँदै उनले नीति अधिवेशन पछि हुने जानकारी दिए बताए।