अचेल चिया गफ्मा होस् या गाउँका कुना कन्दरामा होस् । या त सहरका गल्लिहरुमा नै किन नहोस् । सबैभन्दा बढि कसैको चर्चा भइरहेको छ भने त्यो हो चुनाव चिन्ह कलमको। एकीकृत समाजवादी पार्टीको । वैज्ञानिक समाजवादको नवितम यात्रा तय गरेको एकीकृत समाजवादीले ४० प्रतिशत युवाहरुको उपस्थितिमा आफ्ना सांगठनिक र राजनीतिक गतिविधि सञ्चालन गरिहेको छ । वैज्ञानिक समाजवादको स्थापना यस पार्टीको रणनीतिक लक्ष्य हो । यस लक्ष्य प्राप्तिका लागि के गर्नुपर्छ ? कसरी जाने ? कुन बाटोमा जाने ? एकीकृत समाजवादी पार्टीलाई जनताहरुले आफ्नो वर्गीय पार्टीका रुपमा किन रोज्ने ? यसपार्टीलाई आगामी निर्वाचनमा जनताले किन भोट दिने? जस्ता प्रसँगहरुको जवाफ यस स्तम्भमा समेट्ने प्रयास गरिने छ ।
विषय प्रवेशः
फ्रान्सका महान दार्शनिक नेपोलिएनले चीनलाई अफिमको नशामा ‘निदाएको राक्षस’ भनेका थिए । जुन राक्षस जाग्यो भने दुनियाँ सखाप पार्छ भन्ने नेपोलिएनको धारणा थियो । २०औं शताब्धिमा चिन जाग्यो । आज २१औं शताब्धिमा चिनले आफूलाई विश्व महाशक्ति राष्ट्रका रुपमा विकास गरिहेको छ । यो प्रसँग उल्लेख गर्नुका एउटै कारण हो गरे के हुँदैन ? नेतृत्वमा रहेका व्यक्तिहरुले चाहाने हो भने के हुँदैन ? हामी नेपालीहरु आफ्नो कर्तव्यदेखि भाग्छौं । आफ्नो हितका लागि नियम, कानून, बिधि विधानलाई धोती लगाइदिन्छौं । अनि कसरी हुन्छ विकास ? कसरी आउँछ समृद्धि ? त्यसैले २१औं शताब्धिका जनताहरुले असली राजनीतिक दल को हो ? कुन राजनीतिक दलले अघि सारेको लक्ष्य र बाटो उचित छ ? भन्ने कुरा जान्न आवश्यक छ । यदि जनताले उचित राजनीतिक दल चुन्ने हो भने हाम्रो देश समृद्ध बन्न र समाजवाद हासिल गर्न धेरै समय लाग्दैन । त्यसका लागि एउटै सर्त हो, जनताले सुविचारित ढंगले प्रगतिशील र अग्रगमनकारी शक्तिलाई चिन्नैपर्छ ।
एकीकृत समाजवादी पार्टी किन रोज्ने ?
पहिलो कारण: विचार र सिद्धान्तसँग सम्बन्धित छ । यो पार्टी विचार र सिद्धान्तमा स्पष्ट छ । माक्र्सवाद—लेनिनवाद यस पार्टीको विचारधारा हो । हाल अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरु मध्ये एकीकृत समाजवादी पार्टी एक कदम प्रगतिशील र अग्रगमनकारी पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह पनि हो । यस पार्टीले उठाएको विकास र समृद्धिको झण्डा, राष्ट्रियताको झण्डा, लोकतन्त्रको झण्डा, सामाजिक न्यायको झण्डा र अन्ततः वैज्ञानिक समाजादको झण्डाले भन्छ कि यो पार्टी कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो । यस कारण जनताहरुले कलममा भोट हाल्नेछन् ।
कम्युनिष्ट नामका केही कम्पनि र साइनवोर्डहरु नभएका भने होइनन् । त्यस्ता पार्टी नामका कम्पनि र साइजवोर्डहरुले जनतालाई झुक्याउने बाहेक अरु केही काम गर्न सक्दैनन भन्ने कुरा जनताले बुझ्नुपर्छ । सम्पन्न भइसकेको पूँजीवादी जनवादी क्रान्तिलाई पुनः अधुरो देखाउने पश्चगमनकारीबाट जनताहरु जोगिनु पर्छ । जबजको घाटी रेट्ने गरी दुई दलिय राजनीतिक प्रपञ्च रच्ने, जबजलाई दुहुनो गाई बनाउन खोज्नेहरुबाट जनताहरु सावधान हुनैपर्छ । समाजको गति अगाडि बढ्छ । समाज गतिशील हुन्छ । एक कदम अगाडि बढ्नु समाज विज्ञानको नियम हो । कसैले चाहेर वा नचाहेर समाज समयको गतिमा अघि बढ्छ । भोग चलन गर्दै आएको संसदीय व्यवस्थालाई धन्यवाद दिदै नेपाली समाजलाई वैज्ञानिक समाजवादको यात्रामा होमिन आग्रह गर्नु एकीकृत समाजवादी पार्टीको गल्ति हो ? होइन ।
त्यसैले नेपाली मौलिखतासहितको समाजवाद हासिल गर्ने यस पार्टीको लक्ष्य हो । यस पार्टीले आफ्नो विधानमा समाजमा जारी अन्तरविरोधको अन्त्य गर्ने, विभेद र उत्पीडनहरुको अन्त्य गर्ने, समाजभित्र रहेका शोषण दमनहरुको अन्त्य गर्ने, जातीय, भाषिक, क्षेत्र, लिङ्ग र वर्गका आधारमा हुने सबैखाले विभेदहरुको अन्त्य गर्ने, दलाल पूँजीको अत्य गर्ने, सामान्तवादका अवशेषहरुलाई नामेट गर्ने, राष्ट्रिय पूँजीको विकास गर्ने र सामाजिक न्याय स्थापना लागि सबैखाले प्रतिगमनविरुद्ध लड्ने भनेको छ । वैचारिक, सैद्धान्तिक र व्यवहारिक रुपमा पनि यो पार्टी अरुभन्दा निक्कै अघि छ । त्यसैले यस पार्टीलाई रोज्दा मुलक सहि मार्गमा अघि बढ्नेछ ।
दोस्रो कारण: साशन शैलीसँग सम्बन्धित छ । लोकतान्त्रिक मूल्य मान्यताका साथ एकीकृत समाजवादी क्रान्ति सम्पन्न गर्ने यस पार्टीको अर्को महत्वपूर्ण लक्ष्य हो । दलाल पूँजिवादी, नव साम्राज्यवादी, विस्तारवादी, दक्षिणपन्थी अवसरवाद र नव उपनिवेशवादी व्यवस्थाका विरुद्धमा जन्मिएको राज्य व्यवस्था हो वैज्ञानिक समाजवाद । यहि व्यवस्था स्थापनाको लागि एकीकृत समाजवादीले आह्वान गरेको राष्ट्रिय नारा हो, ‘जबजका मूल्य मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिशामा अघि बढौं ।’
दलाल पूँजिवादी धरातलमा बनेका राजनीतिक र आर्थिक संरचनाहरु भत्काउनका लागि जनताहरुले आगामी निवार्चनमा एकीकृत समाजवादी पार्टीलाई अनुमोदन गर्नुपर्ने हुन्छ । सार्वजनिक श्रम र सामाजिक स्वामित्वबीचको क्रश विन्दु र्सिजना गर्न जनताहरुले यो पार्टीलाई रोज्नुपर्ने हुन्छ । राष्ट्रिय पूँजिको निमार्ण र वर्गविहिन समाज स्थापनाको लागि जनताहरुले यस पार्टीलाई रोज्नुपर्नेछ । अर्कातर्फ यस पार्टीले सरकारलाई जन सरकारको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । जनमुखी सरकार नै समाजवादको मुल आधार हो भन्ने कुरामा यो पार्टी स्पष्ट र जानकार छ । साथै यसपार्टीले सार्वजनिक संस्थानहरुलाई पारदर्शी बनाउने र जनसेवा प्रदानमा पारदर्शीता हासिल गर्ने भनेको छ ।
समाजवादी चरित्र र प्रवृत्तिबाट चुक्न यस पार्टीका नेता कार्यकर्ताहरुलाई छुट छैन । संगठित, असंगठित श्रम शक्ति, समाजवादी यात्रामा समाहित बौद्धिक वर्ग, सबैलाई एकै ठाउँमा उभ्याएर नेतृत्वले लोकतान्त्रिक मूल्य मान्यताका साथ आन्दोलनलाई नयाँ रुप दिन सक्नुपर्छ । जनताले यस पार्टीलाई आफ्नो वर्गीय पार्टीका रुपमा अघि सार्नुपर्ने धेरै कारणहरु छन् । राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक पक्षका बारेमा एकीकृत समाजवादीले अघि सारेको सामाजिक न्यायको सिद्धान्तले थप पुष्टि गर्छ ।
तेस्रो कारण: पार्टी सुदृढिकरण सम्बन्धि छ । हालसम्म सम्पन्न पार्टीका वैठकहरुले देश र जनताको सेवामा समर्पित हुने भावनाको विकास गर्ने, सिद्धान्त र व्यवहारबीचको तादात्मयता खोज्ने, जनतासँग मित्रवत व्यवहार गर्ने, नीजि स्वार्थका लागि नेताको चाकडी गर्ने प्रवृत्तिको अन्त्य गर्ने जस्ता महत्वपूर्ण कुराहरु अघि सारेको छ । जनताहरुले उल्लेखित कुराहरुको कार्यान्वय देख्न चाहान्छन् भन्ने कुरा नेतृत्व र कायर्कर्ताले भुल्नु हुँदैन । विगतका दिनमा भए गरेका गल्तिहरुबाट सिक्दै पार्टीले अघि सारेको लक्ष्य हासिलका लागि नेतृत्वले सुविचारित र वैज्ञानिक ढंगले राजनीतिक अवस्थालाई विश्लेषण गर्न सक्नुपर्छ । कम्युनिष्ट आचरण, प्रवृत्ति र व्यवहारलाई ध्यानमा राखेर सामाजिक हितको लागि, सामाजिक न्यायको लागि कार्यकर्तालाई समर्पित हुन नेतृत्वले निर्देशन दिनुपर्छ । प्लेन टिकट काटिदिएको भरमा, होटलको बिल तिरिदिएको मानेमा, आर्थिक सहयोग गरेको वा आर्थिक लाभ लिएको आधारमा, महंगा र निजि स्कुलमा सन्तानहरुको शुल्क तिरिदिएको वा छुट मिलाई दिएको भरमा कार्यकर्तालाई पार्टीको महत्वपूर्ण जिम्मेवारीमा ल्याउने, निर्वाचनमा टिकट दिने, काखि च्याप्ने गल्ति नेतृत्वले गर्नु हुँदैन । जनवादी केन्द्रीयताको नाममा टिकेप्रथालाई प्रशय दिने र मिनि एमाले बनाउने भूल केन्द्रदेखि स्थानीय स्तरका नेताहरुले गर्न हुँदैन । यसो गर्ने हो भने एकीकृत समाजवादीको नाममा उठेको ज्वारभाटा थप बढ्ने । जनविश्वासलाई कायम राख्दै जित निश्चित हुने अविरल विश्वास बटुलेर समाजवादीहरु अघि बढिरहनुपर्छ ।
चौथो कारण: नेतृत्व सम्बन्धि छ । यस पार्टीको नेतृत्व अडान, विचार, आस्था, साहास, गन्तव्य, अठोटमा स्पष्ट छ । जीवित नेताहरु मध्ये क्लिन क्षवि भएका नेताहरुले नेतृत्व गरिरहेका छन् । सबैभन्दा पहिले राष्ट्र र जनताको सर्वोपरि हित चाहाने, त्यसपछि पार्टी, कार्यकर्ता र अन्त्यमा आफ्नो हित चाहाने नेतृत्वको सुन्दर पक्ष छ । विधि विधान, नियम कानूनको पक्षधर र सामाजिक न्यायका लागि आजीवन लगानी गरेको नेतृत्व छ । नीति, रणनीति र कुटनीतिमा सफल नेतृत्व छ । युवा नेताहरु पार्टीको माथिल्लो स्थानमा पुगेका छन् । जसले समाज रुपान्तरणका लागि ठूलो योगदान दिएका छन् ।
युवाहरुले रुचाएका नेता, युवाहरुमा भिजेका नेताहरु यस पार्टीमा छन् । जसले राजनीति जीवनमा इमान र नैतिकता, नियम र कानून, विधि र विधानका बारेमा पटक पटक बोलेका छन् । उनीहरुबाट जनताहरुले ठूलो अपेक्षासेमत गरेका छन् । अपवाद बाहेक नेतृत्व इमान्दार छ, देश र जनतालाई नै सर्वोपरि ठान्ने नेतृत्व छ । पार्टीले लिने दिशा र नेतृत्वको क्षमताका आधारमा नयाँ पुस्ताहरुले, युवाहरुले यो पार्टीलाई रोज्ने छन् । पार्टीको रणनीतिक लक्ष्य, तात्कालिक लक्ष्य र कार्यभारका आधारमा ति युवाहरुले समाज रुपान्तरण, राजनीतिक परिवर्तन, आर्थिक र साँस्कृतिक रुपमान्तरणमा योग्दान दिनका लागि निर्वाचनमा यो पार्टीलाई रोज्नेछन् । समाजलाई यथास्थितिबाट वैज्ञानिक समाजवादको बाटोमा हिडाउनका लागि यो पार्टी रोज्नेछन् । त्यसका लागि एकीकृत समाजवादी पार्टीमा सहभागि भएका हजारौं नेता कार्यकर्ताहरुले जनता र राष्ट्रको हितका बारेमा सुविचारित र वैज्ञानिक ढंगले सोच्न सक्नुपर्छ । समाजमा रहेका सबैखाले अन्तरविरोध र उत्पीडनहरुको अन्त्यका लागि मैले मात्र बोलेर के हुन्छ ? सबै मिलेर खान्छन्, म किन विरोधि बन्नु ? सबै उतातिर छन् म मात्रै एक्लै किन हिड्नु? कसैले नभनौं । एउटैले हो नयाँ परिस्थिति सिर्जना गर्ने ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले विद्रोह नगरेका हुन्थे भने आज नेपालको राजनीतिले नयाँ तरंग लिन्थ्यो ? पक्कै लिदैन थियो । समाजरुपान्तरण र समाजिक न्यायका बारेमा वैज्ञानिक र बस्तुपरक ढंगले सोच्ने अवस्था सिर्जना हुन्थ्यो ? हुँदैन थियो । एक्लो भएपनि, अल्पमतमा हुँदा पनि सत्यको बाटोमा हिड्नु असली परिचय हो । चुनौतीको बाटोमा हिड्न बिलासितामा रमाउनेहरुले कहाँ सक्छन् र ? पश्चगमनकारी र दक्षिणपन्थिहरुले प्रगतिशील पक्षधरका बारेमा फैलाईरहेका भ्रमहरुलाई चिर्दै नेतृत्व र कार्यकर्ता पंक्ति अटुट आस्था र साहास बोकेर अघि बढ्नुपर्छ । नेपालमा हाल कम खराब पार्टीको खोजि भइरहेको छ । यस कुरालाई नेतृत्वले बुझ्नुपर्छ । भलै एकीकृत समाजवादीका बारेमा अहिले नै आलोचना गर्नेबेला त भएको छैन । तथापी जनताको विश्वास जित्नु र विश्वास कायम राख्नु यो पार्टीको पहिलो कर्तव्य हो ।
अन्त्यमा, वैज्ञानिक समाजवादको नारा दिएर मात्रै कसैले विश्वास गर्ने छैनन् । पार्टीमा आवद्ध नेता कार्यकर्ताहरुले सुधार गर्नुपर्ने व्यवहार, चरित्र, प्रवृत्ति र कार्यशैलीहरु पनि छन् । पार्टी आफैमा खराब र असल हुँदैनन् भन्ने कुरा पनि जनताले राम्रोसँग बुझेका छन् । पार्टी नेतृत्वको दृष्टिकोण, अठोट, आस्था, इमान्दारिता, लगनशिलता, साहास र कार्यकर्ताको लगनशिलता, आचरण, व्यवहार र प्रवृत्तिका आधारमा जनताले भोट दिन्छन् । माया र घृणा गर्छन् । यस्ता कुरालाई पार्टीले गम्भीरताका साथ लिनुपर्छ । पार्टीले लिएको लक्ष्यमा पुग्नका लागि आत्मनिर्भरता, राष्ट्रिय पूँजि निमार्ण, ब्यापार घाटाको अन्त्य, प्राकृतिक स्रोतको उच्चतम प्रयोग, पूँजीवादी राजनीतिक र आर्थिक संरचना ध्वस्त पार्नै पर्नेछ । सामाजिक जडताको अन्त्य, सबैखाले विभेदहरुको अन्त्य, उत्पादनमा जोड आदी कुरामा ध्यान दिनुपर्छ । नेपाली समाज आर्थिक रुपमा तहगत विभाजन र जातीगत रुपमा ठाडो चिरामा विभाजित छ । यसलाई एकीकृत समाजवादी पार्टीले सचेततापूर्वक मिलाउनु पर्छ । यति कुरा गर्ने हो भने यस पार्टीलाई जनताले रुचाउनेमा दुईमत छैन । आगामी निर्वाचनमा यस पार्टीलाई अनुमोदन गर्नेमा शंकै छैन ।