कांग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजार नाघ्यो



काठमाडौँ। केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन्। तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन्।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन्। नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ।

महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ। नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ। कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए।

शर्माले भने, “नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी भएको छ। यो सङ्ख्या नयाँ र पुराना क्रियाशील सदस्यसहितको हो।” आजको गोरखापत्र दैनिकमा समाचार छ।