काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको सम्पत्ती केपी शर्मा ओलीले खोसेर लगेको बताएका छन्।
इटहरीमा पार्टी कार्यालय निरीक्षणका लागि पुगेका उनले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन्। ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने, ‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन्। तर पनि केहीबात छैन फेरि आर्जन गरौंला।’
उनले हक लाग्ने भए हक खोज्ने बताए। हक खोज्नका लागि कानूनी बाटो अपनाउने उनले बताए। ‘हक लाग्छ भने त्यसका निम्ति कानूनी उपायहरु खोजौंला,’ उनले भने,‘ पार्टीलाई व्यवस्थीत बनाउन कार्यालय अपरिहार्य छ।’
त्यस्तै अध्यक्ष नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको बताएका छन्। कार्यक्रममा उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरे। ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र (केपी शर्मा) ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,’ उनले भने, ‘हामी त्यहाँ ९एमालेमा० भएको भए के हुन्थ्यो हालत? हरि बिजोग हुन्थ्यो।’
पहिले आफ्नो समूहमा रहेका र पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै नेता नेपालले भने, ‘त्यहाँ भएका मान्छेको हालत भए जस्तै।’
एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको उनले टिप्पणी गरे। ‘उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने,’ नेता नेपालले भने, ‘विजोग छ, यी (ओली) सुध्रिनेवाला छैनन्। त्यो जमात क्रान्तिकारी रहेन।’
चितवनमा भएको १०औं महाधिवेशनबाट एमालेले जनताको बहुदलीय जनवाद (जबज) र क्रान्तिकारी स्वाभावलाई नारायणी नदीमा बगाएको उनको तर्क छ।