जुम्ला। कर्णाली प्रदेश अन्तर्गत जुम्लामा एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस)कक्षा सुरुवात गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुवात गरेको हो।
सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने ध्येयले वि.सं. २०६८ मा जुम्ला सदरमुकामस्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो। चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउन स्वीकृति दिने निर्णय गरेको थियो।
साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिटमध्ये आइतबार १५ जना भर्ना भएका छन्। तीमध्ये छात्रा पनि रहेका जनाइएको छ। उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए। पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले भने, ‘जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुसी छु।’
प्रतिष्ठानमा पहिलोपटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुवात भइसकेको छ। सो तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन्।
यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा. मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन्। प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ पनि अध्यापन पनि सुरुवात गरेको छ। ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन्। यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ।
प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ। प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू)र चार शय्याको शल्यक्रिया कक्ष छ।