कर्णाली कांग्रेस सभापतिमा कसले मार्ला बाजी ?



सुर्खेत । नेपाली कांग्रेस कर्णालीको नेतृत्व हाँक्न तीन जनाले उम्मेदवारी दिएका छन् । कालीकोटका भुपेन्द्रजंग शाही र मोतिराज बम तथा जुम्लाका ललितजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका हुन् । उम्मेदवारको टुंगो लागेसँगै कांग्रेसको प्रदेश नेतृत्वका लागि ‘कर्णालीभित्रको कर्णाली’ बीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

कर्णाली प्रदेशभित्र दश जिल्ला समेटिएपनि साविकको भेरी र कर्णालीबीचको अन्तर अहिले पनि देखिने गरेको छ । सुर्खेतको वीरेन्द्रनगरलाई प्रदेशको राजधानी बनाउने विषयमा होस् या प्रदेशको नाम कर्णाली राख्ने विषयमा होस्, साविकको कर्णाली र भेरीबीचको प्रतिस्पर्धा पेचिलो बनेको थियो । कर्णालीको राजनीतिमा अहिले पनि भेरी–कर्णालीको विभाजन छिटफुट रूपमा देख्न र सुन्न पाइन्छ । कांग्रेसको प्रदेश महाधिवेशनमा पनि त्यही दृष्य देखिएको छ ।

संघीयता कार्यान्वयनको चार वर्षपछि पहिलो पटक प्रादेशिक संरचना निर्माण गर्न लागेको कांग्रेसको प्रदेश नेतृत्वका लागि करिब आधा दर्जन नेताले दाबी पेस गरेका थिए । त्यसमाथि पार्टीभित्रको दुई समूहभित्र उम्मेदवारको आकांक्षी व्यवस्थापनमा समस्या भइरहेको थियो ।

उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म संस्थापन पक्षबाट सभापतिको बलियो दाबेदारका रूपमा जाजरकोटका राजीवविक्रम शाहको चर्चा थियो । चर्चा के पनि थियो भने शाह सभापति शेरबहादुर देउवाको रोजाइसमेत हुन् । तर अन्तिममा शाहलाई पछि पार्दै उक्त समूहबाट उम्मेदवार बने जुम्लाका ललितजंग शाही ।

अर्कोतर्फ संस्थापनइतर समूहबाट पनि सभापतिको पहिलो दाबेदारका रूपमा जाजरकोटकै दिपकजंग शाहलाई हेरिएको थियो । उम्मेदवार छनोटका लागि जिम्मेवारी पाएका केन्द्रीय सदस्य हृदयराम थानीसमेत शाहलाई सभापतिको उम्मेदवार बनाउन चाहन्थे । तर अन्तिममा आएर उम्मेदवार बने कालीकोटका भुपेन्द्रजंग शाही । दुवै समूहका उम्मेदवार साविक कर्णालीका हुन् । त्यति मात्रै होइन विमलेन्द्र निधी समूहको प्रतिनिधित्व गर्दै सभापतिमा उम्मेदवारी दिएका मोतिराज बमसमेत कालीकोटका हुन् । यसरी हेर्दा कांग्रेसको प्रदेश नेतृत्व साविक कर्णालीले नै गर्ने निश्चित छ ।

तीनै जना साविक कर्णालीका उम्मेदवार हुनु संयोग मात्रै भने होइन । त्यसभित्र ‘भोटको गणित’ पनि जोडिएको छ । हिमाली जिल्लाको भोट सुरक्षित गर्ने रणनीतिअनुसार नै दुवै समूहले अन्तिममा सोही क्षेत्रका उम्मेदवारलाई अघि सारेका हुन् । संस्थापनइतर समूहले मनोनयन दर्ताको एक दिनअघि नै भुपेन्द्रजंग शाहीलाई उम्मेदवार बनाउने निर्णय ग¥यो । शाहीको उम्मेदवारी निश्चित भएपछि संस्थापन समूह पनि जाजरकोटबाट जुम्ला सर्न बाध्य भएको कांग्रेसका नेताहरू बताउँछन् । ‘देउवाको समर्थन पाएका राजीवविक्रम सभापतिको उम्मेदवार हुने निश्चितप्रायः थियो’ संस्थापन समूहका एक नेताले भने, ‘अर्को समूहले कालीकोटबाट उम्मेदवार बनाएपछि साविक कर्णालीको भोट प्रभावित हुनसक्ने आकलन गर्दै जुम्लाका ललितजंग शाहीलाई सभापतिमा उठाउने निर्णय गरिएको हो ।’

नेतृत्वका लागि त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रदेशभित्र यसअघि संस्थापन सभापति शेरबहादुर देउवा र संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको थियो । तर प्रदेश महाधिवेशनमा भने उपसभापति विमलेन्द्र निधी समूह पनि देखा परेको छ । उक्त समूहबाट सभापतिसहित सदस्यमा समेत उम्मेदवारी परेको छ । देउवा र पौडेल समूहबाट पदाधिकारी सहित सदस्यहरूमा पुरै प्यानलगत उम्मेदवारी दर्ता भएको छ । निधी समूहबाट सभापति र दशवटै जिल्लाबाट प्रतिनिधित्व हुने सदस्यमा मनोनयन दर्ता गरिएको छ ।

दुई जना उपसभापतिका लागि कालीबहादुर सहकारी, सनतकुमार कार्की, देवेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले मनोनयन दर्ता गरेका छन् । यस्तै महामन्त्रीमा निरन्जन केसी, कृष्णबहादुर रोकाया, कृष्णकुमार विसी, खगेन्द्रबहादुर मल्ल र गोविन्दबहादुर कोइरालाको उम्मेदवारी परेको छ । विधानअनुसार दुई जना प्रदेश महामन्त्री हुने व्यवस्था छ ।

दुई जना खुलातर्फको सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी, नेत्रलाल पौडेल र जयनन्द उपाध्यायले मनोनयन दर्ता गरेका छन् भने एक जना महिला सहमहामन्त्रीका लागि रामछायाँकुमारी शाही र देवीकाकुमारी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सबै पदमा गरेर एक सय २४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । शनिवार बिहान सात बजेसम्म उम्मेदवारी फिर्ताको म्याद तोकिएको छ । मतदान पनि शनिवार नै दिउसो १२ बजेदेखि सुरु हुनेछ ।

याे रैबार साझा बिसाैनि दैनिकमा प्रकाशित छ।