पन्ध्र लाख भुक्तानीको विषयमा प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात



जुम्ला। जिल्लाको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल कार्यकक्षमै कुटिएका छन्।

सामुदायिक भवनको भुक्तानीका विषयमा विवाद हुँदा गाउँपालिका उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकिय अधिकृत धितालमाथि कुटपिट तथा हातपात गरी दुर्व्यवहार गरेको तातोपानी गाउँपालिकाका कर्मचारीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

शुक्रबार पालिकाका कर्मचारीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले योजनाको प्रक्रिया नपुगेको भुक्तानी माग्न खोज्दा सो विषयमा विवाद उत्पन्न गरी कार्यालय प्रमुख विष्णु प्रसाद धितालमाथि आक्रमण गरी हातपात गरेकाले साथै उपाध्यक्ष स्वयम आफुले म हाल कार्यबाहक अध्यक्ष भएको हुँदा मैले भने, “आजैका मितिदेखि कार्यालयमा उपस्थित नहुनु” भनी दिएको धम्कीप्रति सम्पूर्ण कर्मचारीहरु घोर भत्सना गर्दछौं।’

साथै विज्ञप्तिमा कर्मचारीलाई सहज ढंगबाट काम गर्ने वातावरण नभएकोले निकास नआएसम्म पालिकाका सबै कामकाज ठप्प गर्ने समेत बताइएको छ।

धितालले कोल्डस्टोरको जग्गा सहकारीका नाममा नभएसम्म र प्रक्रिया नपुगी भुक्तानी दिन नमिल्ने बताएपछि प्रक्रिया मिलाउने भन्दा दादागिरी देखाएर उपाध्यक्ष र उनका श्रीमानले हातपात गर्न खोजेर दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

यता उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायले भने प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात नगरेको दाबी गरेका छन्। खाता फुकुवा गर्ने विषयमा विवाद, भनाभन भएको तर हातपात भने नभएको उपाध्यायको भनाई छ।