कालिकोटमा हिमपात, जनजीवन प्रभावित



कालीकोट। जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। आज दिउँसो १२ बजेबाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो।

हिमपातले चिसोसँगै जनजिवन प्रभावित भएको छ। माथिल्लो क्षेत्रमा रहेका भेडाबाख्रा हिमपातले संकटमा परेको भेडापालक कृषकहरूको भनाई छ। रास्कोटको चडीपानीबाट भेडीगोठाला जंगे खड्काले बाक्लो हिमपात भएकाले समस्या भएको बताए।

‘हामी त आगोको साहरामा बसौंला तर एक्कासी हिमपात हुँदा भेडाबाख्रा चिसोले मर्ने त्रास बढेको छ। हिमपात नरोकिएमा तत्काल घडेनी, बिसालीतिर झार्ने सोचमा छु’, उनले भने। हिमपातले चिसो पनि निकै बढेको र चिसोले गर्दा पशुचौपायाको चरण पनि समस्यामा परेको उनले बताए।

जिल्लाको रास्कोटको माथिल्लो क्षेत्रमा सबैभन्दा बढी हिमपात भएको छ। यस्तै, तिलागुफा नगरपालिका, जहाँ अग्ला हिमाल छन् त्यहाँ पुरै हिउँले सेताम्मे भएको स्थानीयको भनाई छ। चुली, पुग, रुडुवन्चु, शुभकालिकाको भर्ता टावर, चंखेली हिमाल, ठाडामेला, लगायतका क्षेत्रमा भारी हिमपात भएको छ।

हिमपातले भेडा सबैभन्दा बढी प्रभावित भएका छन्। गोठालाहरुले तत्काल भेडा राख्ने ठाउँको खोजी गरिरहेको बताएका छन्। ठूला ओडार, ढुङगाका खोचमा तत्काल ब्यवस्था गर्ने गरेका छन्। जहिले पनि भारी हिमपात हुँदा यसरी नै राख्ने गरेको पचालझरना गाउँपालिकाका भेडीगोठाला सर्पसिहं बोहराले बताए। अहिले पनि निरन्तर पानी परिरहेको छ।