काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट चुनाव लड्न सुझाव दिएका छन्।
राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले प्रचण्डलाई झापामै आएर चुनाव लड्न सुझाएका हुन्। एमालेको दशौं महाधिवेशन चितवनमा किन गरियो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको जनाए।
प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको हो कि भन्नेबारे हुँदै आएको चर्चातर्फ केन्द्रित हुँदै ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने बताए।
उनले प्रचण्डसँग आफ्नो कुनै लिनु दिनु नरहेको पनि बताए। उनले भने, ‘उहाँलाई मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आउनुस्।’
त्यस्तै अध्यक्ष ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन्। महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए।
माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन। अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो। यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन। महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ।’ एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।