‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनाउँछौँ’



काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन्।

मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताएका हुन्।

चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए । उनले भने, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उनको सुझाव थियो ।

उनले न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिए । उनले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल तथा आपसमा समझदारी गरेरै निकाल्नुपर्ने बताए । उनले भने,“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरू कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।”

समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुने गरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।