कर्णाली प्रदेशकै पहिलो सरुवा रोग अस्पताल कालिकोटमा सञ्चालन



कालिकोट। कालिकोटमा कर्णाली प्रदेशकै पहिलो सरुवा रोग अस्पताल सञ्चालनमा ल्याईएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा कालिकोटमा पहिलो पटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याईएको हो।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गरेका हुन्। कालीकोटमा सञ्चालनमा ल्याइएको सरुवा रोग अस्पताल कर्णाली प्रदेशकै पहिलो सरुवा रोग अस्पताल हो। यसपछि सुर्खेतमा सरुवा रोग अस्पताल बन्न लागेको छ।

कर्णाली प्रदेश सरकारबाट १ करोड सहयोगमा अस्पताल स्थापना गरिएको कटक महतले बताए। उनका अनुसार अहिले सरुवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ। बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत १ जना, हाउस किपर सहायक १ जना, फार्मेसी सहायक १ जना लगायत अन्य जनशक्ति गरि २१ जनाको दरबन्दी रहेको छ।

कालिकोटमा स्थापना गरिएको सरुवा रोग अस्पताल तत्कालका लागि १५ शैय्याको हुने छ। यहाँबाट कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु लगायत छिमेकी जिल्ला अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सेवा लिने छन्।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नवीर सुनारको अध्यक्षता, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य जीवनबहादुर बुढाको विशेष आतिथ्यतामा अस्पतालको उद्घाटन गरिएको छ।