एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावल को हुन्?



२०१३ साल साउन ४ गते अछाममा जन्मेका भीम रावल राजनीतिक शास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक हुन्। नेकपा (एमाले), केन्द्रीय कमिटीको  उपाध्यक्ष तथा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य रावल २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न भएका थिए।

२०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानुनअन्तर्गत केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका रावल त्यहीँ झापाली राजबन्दीहरूसँग भेट भएर राधाकृष्ण मैनालीबाट सदस्यता प्राप्त गरेका थिए। कारागारमा पार्टी सदस्यता कायम नहुने भएकाले पुनः २०३५ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त) गरेका थिए।

२०३३ सालमा राजकाज मुद्दाअन्तर्गत कारागार चलान भएका उनी २०३५ सालदेखि पार्टीको विद्यार्थी क्षेत्रमा पार्टीको नेतृत्ववादी केन्द्रीय न्युक्लियसको सदस्य, अनेरास्ववियु, (एकताको पाँचौँ) को संस्थापक मध्येको एक नेता, २०३६ सालमा त्यस संगठनको केन्द्रीय सचिवालय सदस्य, विदेश विभागको प्रमुख, विद्यार्थी आवाज र स्टुडेण्ट्स भ्वाइसको सम्पादक भएका थिए।

२०३८ सालमा अनेरास्ववियु, एकताको पाँचौँ राष्ट्रिय सम्मेलनका सिलसिलामा  गिरफ्तार भएर डिल्लीबजार खोरमा विद्रोह र भैरहवा कारागारमा ९ दिन आमरण अनशन बसेका उनी  २०३९ साल पछि नेकपा (माले) को काठमाडौँ बुद्धिजीवी कमिटीको सचिव र पार्टीका तर्फबाट साप्ताहिक पत्रिकाको सम्पादनको जिम्मेवारी प्राप्त गरेसँगै  २०४८ साल पछि लगत्तै प्रचार विभागको सदस्य बनेका थिए।

२०५० सालदेखि विदेश विभागको सदस्य  र सचिवका रूपमा लामो समय काम गरेको उनी  २०५४ सालमा छैटौँ र २०५९ सालमा सातौँ  राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित हुँदै २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका थिए।

२०७१ सालमा नवौँ राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित रावल १० वर्ष सेती अञ्चल इन्चार्ज, झण्डै १५ वर्ष प्रवास क्षेत्रको पार्टी कामको जिम्मेवारी वहन र विभिन्न समयमा केन्द्रीय संगठन विभागको सदस्यका रूपमा जिम्मेवारी बहन गरेका थिए।  संघीय व्यवस्था आइसकेपछि सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक र त्यसको संस्थापक भएका उनी २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरण भएपछि स्थायी कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज भएका थिए।