काठमाडौँ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे।
देउवाले उद्घाटन गरेका यी दुई च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएको छ । राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, पतञ्जलिका टेलिभिजन विभागमा दर्ता छैनन् । ‘दर्ताका लागि आवेदन नै आएको छैन,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।
पतञ्जलिले टेलिभिजन सञ्चालनको इजाजत नलिएको देखिएकाले बिनाअनुमति सञ्चालन गरेका विषयमा अध्ययन गर्नेसमेत उनले बताए । ‘हामी ती टेलिभिजन च्यानलले प्रसारण सुरु गरेरनगरेकोबारे अध्ययन गर्न समिति गठन गर्छौं । प्रसारण सुरु गरिसकेको भए कानुनबमोजिम कारबाही हुन्छ,’ हमालले भने ।
यी टेलिभिजनमा भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानी रहेको जनाइएको छ । पतञ्जलि कम्पनीमा आचार्य बालकृष्ण र योगगुरु रामदेवको लगानी छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा ‘आमसञ्चारमाध्यमहरू पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचारको व्यवसाय तथा राष्ट्रभाषाको चलचित्र व्यवसाय’ लाई राखेको छ ।
अनुमति लिन संस्था दर्ताको आधिकारिक प्रमाणपत्र, स्पष्ट उद्देश्य खुल्ने संस्थाको विधान, उक्त टेलिभिजनमा प्रयोग हुने उपकरण तथा जिओकोर्डिनेटेड टोपोग्राफिक नक्सालगायत चाहिन्छ ।
सम्बन्धित घरधनीको जग्गाधनी लालपुर्जा र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपिलगायत विवरण पनि सूचना तथा प्रसारण विभागमा बुझाउनुपर्छ । इजाजत अनुमतिपत्र लिन आउँदा संस्थाका सञ्चालकहरूको चारित्रिक अवस्था र चालचलन बुझी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रसमेत विभागले हेर्ने गरेको छ ।
पतञ्जलिका गैरकानुनी टेलिभिजन उद्घाटनमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत पुगेका थिए । आध्यात्मिक र आयुर्वेदसँग सम्बन्धित कार्यक्रम उत्पादन गर्ने भनिएका ती टेलिभिजन व्यावसायिक उद्देश्यले आएको जनाइएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बाचासमेत गरेका छन् ।
विशेष आर्थिक क्षेत्र ९सेज० का एक उच्च अधिकारीका अनुसार सरकारले कुनै उद्योग–व्यवसायलाई जग्गा उपलब्ध गराउन मुख्यगरी तीन बाटा हुन्छन्– सेजको जग्गा उपलब्ध गराउने, औद्योगिक क्षेत्रको जग्गा दिने र बाहिरको जग्गा भए मन्त्रिपरिषद्को निर्णयबाट दिने । तर पतञ्जलिलाई उद्योग सञ्चालनकै लागि जग्गा दिने भनेर कुनै पनि मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छैनन् । यो समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।