बलात्कारीलाई नपुसंक बनाउने नयाँ विधेयक पारित



काठमाडौँ। पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ। पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको हो।

पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो। गत वर्ष बलात्कारीका दोषीलाई नपुंसक बनाउनेसम्बन्धमा एक अध्यादेशसमेत ल्याइएको थियो।

त्यसको एक वर्षपछि तिनै प्रावधानलाई समेटिएको एक विधेयकलाई बुधबार बसेको संसदको संयुक्त सत्रमा पारित गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

‘केमिकल कास्ट्रेशन ९रासायनिक नपुंसकीकरण० एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ’ विधेयकमा भनिएको छ, ‘यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ र सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ ।’

तर कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् । जमात(ए(इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरियाविपरीत भएको बताए ।

इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख गरिएको छैन । यही कारण हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ छ ।

के हो केमिकल कास्ट्रेशन ? 

केमिकल कास्ट्रेशन एउटा यस्तो प्रक्रिया हो जसअन्तर्गत औषधि दिएर कुनै पनि व्यक्तिको यौन शक्ति कम गरिन्छ । यस्तो औषधिले टेस्टोस्टेरोन हर्मोन घटाउँछ ।

विश्वका केही मुलुकमा केमिकल कास्ट्रेशन अर्थात् औषधि दिएर नपुंसक बनाउने प्रावधान छ । सन् २०१६ मा इन्डोनेसियाले बालबालिकामाथि यौन अपराध गर्ने व्यक्तिलाई औषधि दिएर नपुंसक बनाउने कानून लागू गरेको थियो ।

त्यस्तै, सन् २००९ मा पोल्याण्डले समेत बालबालिकालाई बलात्कार गर्ने व्यक्तिका लागि केमिकल कास्ट्रेशन अनिवार्य बनाएको थियो । मिडिया रिपोर्टअनुसार दक्षिण कोरिया र चेक गणतन्त्रका अलावा अमेरिकाका केही राज्यमा समेत यस्तै कानून लागू गरिएको छ ।

पाकिस्तानमा पछिल्ला वर्षमा यौन हिंसाका घटनाविरुद्ध कडा कदम चाल्नु पर्ने आवाज बढिरहेको छ । त्यहाँ यौन आक्रमणका घटनाका दोषीमध्ये ४ प्रतिशतभन्दा कमले मात्रै सजायँ पाउने गरेको आलोचकहरू बताउँछन् ।

लाहौर घटनापछि कानून बनाइयो

पाकिस्तानमा गत वर्ष राष्ट्रपतिद्वारा जारी अध्यादेशमार्फत् बलात्कारका घटनासँग जुध्न एक नयाँ कानून ल्याइएको थियो । त्यतिबेला लाहौरमा भएको सामूहिक बलात्कारको एक घटनालाई लिएर तीव्र असन्तुष्टि प्रकट भएको थियो ।

आठ सेप्टेम्बरमा भएको उक्त घटनामा सडकमा अलपत्र परेकी एक महिलामाथि सामूहिक बलात्कार भएको थियो ।

आफ्ना सन्तानसँगै सडकमार्ग हुँदै लाहौर आउने क्रममा पाकिस्तानी मूलकी फ्रेन्च महिलाको कार बिग्रिएको थियो । सडकमा उभिएर सहयोग मागिरहेका बेला उनीमाथि दुई व्यक्तिले हमला र लुटपाट गरी २ सन्तानसामु बलात्कार गरेका थिए ।

उक्त घटना बाहिर आएपछि निकै आक्रोश बढेको थियो । लाहौरका वरिष्ठ प्रहरी अधिकारीले पीडित महिला समेत सामूहिक बलात्कारका लागि एक हदसम्म जिम्मेवार रहेको भनेपछि आक्रोश थप बढेको थियो ।

ती प्रहरी अधिकारीले टेलिभिजनमा आएर सोही कुरा दोहोर्‍याएका थिए । उनले पीडित महिलाले पाकिस्तान पनि फ्रान्स जस्तै सुरक्षित ठानेको हुन सक्ने बताएक थिए। लगत्तै सारा पाकिस्तानभर विरोध प्रदर्शन भएको थियो । मानिसहरू सडकमा आएर न्याय र महिलाको थप सुरक्षा हुनुपर्ने माग गरेका थिए।

त्यसपछि सरकारले कडा कदम चाल्ने बाचा गर्नु परेको थियो । यही क्रममा गत डिसेम्बरमा अध्यादेशमार्फत् बलात्कारविरोधी नयाँ कानून बनाइयो । सो कानूनमा बलात्कारसम्बन्धी घटनाको चाँडो सुनुवाई गर्दै कडा सजायँ दिने व्यवस्था गरिएको थियो ।

लाहौर बलात्कार काण्ड भएको लगभग एक महिनाभित्रै प्रहरीले दुवै अभियुक्तलाई गिरफ्तार गरेको थियो । पक्राउलगत्तै मुद्दा चलाएर यसै वर्षको मार्चमा दुवै जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।