काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।
९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए । प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन्।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।




