सुर्खेतः मुगुको गमगढी बजारमा भएको आगलागीबाट पीडित परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को मंगलवार बसेको आकस्मिक बैठकले आवश्यक राहत उपलब्ध गराउने निर्णय गरेको हो । तत्कालीन राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउन लागिएको छ ।
स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण संकलन गरेपछि थप राहत प्याकेज ल्याइने प्रदेश सरकारले जनाएको छ।
मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै गमगढी जाने बताइएको छ । गमगढी बजारमा सोमवार राति आगलागीबाट २१ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।