कर्णालीमा दुई सातापछि सरकार विस्तार



सुर्खेत। मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको दुई सातापछि कर्णाली प्रदेश सरकार विस्तार गरिएको छ।

मुख्यमन्त्री शाहीले मंगलवार एक जना मन्त्री थप गरेका हुन्। सत्तासाझेदार दल नेकपा ‘एकीकृत समाजवादी’ का सांसद चन्द्रबहादुर शाहीलाई मन्त्री नियुक्त गरिएको हो।

शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। तीन दलीय गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तर, गठबन्धनभित्र मन्त्रालय भागबन्डामा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन। थप एक जना मन्त्री नियुक्त गरिए पनि सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने भएको छ। यो समाचर साझा बिसौनीले प्रकाशित गरेको छ।