नेपालगञ्ज। बाँकेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ। नेपालगञ्जमा बन्द सफल पार्न भन्दै सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
आज बिहान नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वरदेव गिरीले जानकारी दिए।
नेकपाका कार्यकर्ताहरु बिहानैदेखि औद्योगिक क्षेत्र अगाडी बसेर जबर्जस्ती सडकमा गुडिरहेका ई-रिक्सा र मोटरसाइकलका साँचो निकालेर यात्रुहरुलाई दु:ख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको उनले बताए।
पञ्चपुरी नगरपालिका-११, सुर्खेत स्थायी ठेगाना भई जानकी गाउँपालिका-३ बस्ने ३३ बर्षिय पुष्कल कुमार माझीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिरीले बताए।
बाँकेको कोहलपुर र नेपालगञ्जमा लामो तथा छिटो दुरीका सार्वजनिक सवारी साधनहरु गुडेको देखिंदैन भने निजी सवारी, ई-रिक्सा र मोटरसाइकलहरु केही मात्रामा चलेका छन्। विद्यालय बन्द छन् भने बजारहरू आंशिक रुपमा खुलेको देखिन्छ।