सुर्खेत। आसन्न १०औं महाधिवेशनका लागि एमाले सुर्खेतले चयन गरेको प्रतिनिधिप्रति संविधानसभा सदस्य कमला शर्माले असन्तुष्टी जनाएकी छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई प्रतिनिधि नबनाएकोमा आपत्ति जनाएकी हुन्।
एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेल र जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाहीलाई मेन्सन गर्दै कमला फेसबुकमा लेखेकी छन्, ‘अझै पनि पुगेको छैन भने कृपया भनिदिनुहोला। दिएका छौं भनेको जिम्मेवारीबाट पनि बाहिर बसिदिन तयार छु। तपाईंले बनाएर नेता बन्नु पनि छैन। हिम्मत भए कार्यकर्ताको बीचमा आउनुहोला।’
शर्मा हाल नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदकी सदस्यसमेत हुन्। एमाले स्रोतका अनुसार उनले भूगोलबाट महाधिवेशन प्रतिनिधि बनेर आउन चाहेकी थिइन् तर पार्टी संकटको समयमा माधव नेपालको साथ छोडेर एमाले भएको र शर्माको आफ्नै देवर भएको भन्दै नेकपा एमाले सुर्खेतले डण्डिप्रसाद शर्मालाई महाधिवेशन प्रतिनिधि बनाएको थियो।
पहिलो संविधानसभा निर्वाचनमा सुर्खेत १ का उम्मेदवार ऋषि शर्माको चुनाव प्रचारकै क्रममा भेरीगंगा नगरपालिकाको मैनतडामा हत्या भएपछि उनको ठाउँमा शर्मालाई उठाइएको थियो। प्रतिद्वन्द्वी कांग्रेस नेता लालबहादुर घलेलाई पराजित गरेकी शर्माले संविधानसभाको पहिलो बैठकस्थलमै आफ्नो पतिको हत्या गर्ने भनेर कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई चप्पलले हिर्काएकी थिइन्।
‘प्रतिनिधिका लागि उम्मेदवारी दिएका उम्मेदवारसँग छलफल नगरी, बन्द कोठामा गएर पार्टी नेतृत्वले मनपरीरूपमा प्रतिनिधि छानेका छन् र त्यसैलाई सर्वसम्मत भनेका छन्। एक उम्मेदवारले अर्को उम्मेदवारलाई स्वीकार गरेमात्रै सर्वसम्मत हुनुपर्थ्यो। छाड्न पर्ने अवस्था आए छाड्न पनि सकिन्थ्यो। चुनाव गरेको भए प्रतिस्पर्धा गरिन्थ्यो’, शर्माको परिवारका एक सदस्यले भने, ‘भूगोलबाट चुनिएर गएको प्रतिनिधि भएको भए भूमिका फरक हुन्थ्यो। आवश्यकता परेको खण्डमा उहाँले केन्द्रीय सदस्यमा उम्मेदवार दिने मनसाय राख्नु भएको थियो। सोही अनुसार स्टाटस लेख्नुभएको हो।’ यो समाचार नेपालप्रेसले प्रकाशित गरेको छ।