काठमाडौँ। फूलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले खेलको अन्तिम मिनेटमा गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्याएका छन्। आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो।
पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो। खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे। बराबरीतर्फ अग्रसर खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै पोर्चुगलको सपना चकनाचुर पारे।
जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो। अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ। पराजयसँगै विश्वकप छनोट खेलहरूमा आफ्नो घरेलु मैदानमा अपराजित रहने पोर्चुगलको यात्रामा पूर्ण विराम पनि लागेको छ । पछिल्लो पटक पोर्चुगल सन् २०१३ को अक्टोबरमा पराजित भएको थियो।