काठमाडौँ। प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने भएको छ । सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो प्रदेश २ सरकारमा सहभागी हुने भएका हुन्।
मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सामेल गर्नका लागि आफ्नै पार्टीबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका रामनरेश रायलाई राजीनामाका लागि निर्देशन दिएका छन्। स्रोतकाअनुसार मन्त्री रायले आजै साँझ वा भोलिसम्ममा राजीनामा दिने तयारी गरेका छन्।
मुख्यमन्त्री राउतले यसअघि सामाजिक विकासमन्त्री नवलकिशोर सुडीको राजीनामा माग गरेका थिए। विगतमा राजेन्द्र महतोको साथ छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका उनले सरकारमै रहने अडान लिएपछि भने उद्योगमन्त्री रायलाई राजीनामा दिन लगाइएको हो।
उनले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका महतोलाई मन्त्री बनाइने भएको छ। सम्भवतः सोमबार नै मन्त्रिपरिषद्मा हेरफेर हुने स्रोत बताउँछ।