केपी ओलीले फैलाइरहेका भ्रमविरुद्ध उत्रिन अध्यक्ष नेपालको निर्देशन



तस्बिर: रातोपार्टीबाट सभार।

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका विरुद्ध एमालेका अध्यक्ष केपी ओली षड्यन्त्रपूर्वक लागेको दाबी गरेका छन्।

शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकमा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले षडयन्त्रमूलक तरिकाले झुट र भ्रम फैलाइरहेका भन्दै त्यसविरुद्ध खरो रुपमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।

उनले भने, ‘हाम्रो पार्टीको लोकप्रियता र सक्रियतालाई लिएर अतालिएको एमाले पार्टी, त्यस पार्टीका अध्यक्ष केपी ओलीले हाम्रो पार्टीका विरुद्धमा झुट र भ्रम फैलाईरहेका छन्। त्यसका विरुद्धमा खरो रुपमा उत्रिन आम कार्यकर्ता कमरेडहरुलाई अनुरोध गर्न चाहान्छु। हाम्रो पार्टी उठाएका मुद्धाहरु जनताले मन पराएका छन्। हामी इमान्दारपूर्वक देश र जनताको काम गर्ने मान्छे हौं। केपी ओली जस्तो झुटको खेती गर्ने, भ्रमको खेती गर्ने, हावादारी गफ गर्ने मान्छे होइनौं।’

बैठकमा विभिन्न दल र शक्तिहरूसँग भएको वार्ताबारेको रिपोर्ट प्रस्तुत भएको छ। महासचिव डा.वेदुराम भुषालले रिपोर्ट प्रस्तुत गरेको र रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय भएको छ।

यस्तै बैठकले कुनैपनि पार्टीको शक्ति, क्षमता र जनाधार, राजनीतिक दृष्टिकोण र महत्वका आधारमा सबैसँग वार्ता गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा बोल्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा नेकपा ९एकीकृत समाजवादी०को महत्व दिनानुदिन बढीरहेको भन्दै पार्टी प्रवेशको लागि आकर्षण बढीरहेको धारणा राखेका थिए। उनले पार्टी छाडेर एकीकृत समाजवादीमा संगठित हुने विभिन्न जिल्लाका नेताहरुसँग छलफल भइरहेको पनि बैठकलाई जानकारी गराएका थिए।